दार्चुलामा लागुऔषध सेवनकर्ता धेरै, प्रहरीको महाअभियानले मथ्थर बन्दै

Krishna

दार्चुला : भारतसँग सीमा जोडिएको दार्चुलामा लागुऔषध सेवनकर्ता धेरै रहेको प्रहरी तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले एक महिनाको अवधिमा ३ सय ३१ जनाबाट लागूऔषध फेला पारेको जनाएको छ । प्रहरीले लागुऔषधको महाअभियान संचालन गरेदेखि ३ सय ३१ जनालाई सानो परिमाणको चरेश तथा ट्याब्लेटसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । सानो परिमाणमा लागू औषध फेला पर्नेलाई सम्झाइ बुझाइ तारेखमा छोडिएको उनले बताए ।

यसै अवधिमा दार्चुला प्रहरीले १४ किलो ५ सय ५० ग्राम लागुऔषध चरेश पक्राउ गर्न सफल भएको छ । लागुऔषधविरुद्धको महाअभियान संचालन सुरु गरेदेखि भदौ २६ गते ८ किलो ८ सय ५० ग्राम चरेशसहित दार्चुलामा बैतडीका दुई जना पक्राउ परे । यस्तै असोज १७ गते शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट मार्माका दुई युवक ४ किलो १०० ग्राम चरेशसहित पक्राउ परे । कात्तिक १ गते मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट बझाङका दुई जनालाई १ किलो ६०० ग्राम चरेशसहित प्रहरीले पक्राउ गर्यो ।

यस्तै भारतीय बजारमा लागुऔषध सेवन गरी आउने कुरालाई मध्यनजर गर्दै लागुऔषधमा संलग्न १ सय ४७ जनालाई सीमा नाकामा भारत जान रोक लगाएको प्रहरीले जनाएको छ । लागुऔषध सम्बन्धी सदरमुकाम क्षेत्रका मेडिकलहरुमा समेत प्रहरीद्धारा सचेत गराइएको प्रहरी नायव उपरीक्षक सिंहले बताए । दार्चुलामा प्रहरीले दैनिक रुपमा लागुऔषध, गुन्डागर्दी तथा अनैतिक क्रियाकलापविरुद्ध माईकिङ गर्दै सचेतना फैलाइरहेको छ । जसले गर्दा तुलनात्मक रुपमा सुधार देखिएको छ ।

यस्तै प्रहरीले हालसम्म १ हजार ३ सय २२ जनाको कानमा लगाएको चाँदी र फलामको वाली, टप, मुन्द्राहरु झिकेको जनाएको छ । पछिल्लो समय प्रहरीले सार्वजनिक स्थलमा धुम्रपान सेवन तथा विद्यालय वरपर मदिरा तथा सुर्तिजन्य पदार्थ विक्री, वितरणमा रोक लगाएको छ ।

Leave A Reply

Your email address will not be published.