दार्चुला : इजरायलमा भएको आक्रमण परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका ४ युवा विद्यार्थीको शव धनगढी ल्याएर मृतकका आफन्तलाई बुझाइएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी, लेकम गाउँपालिकाका दिपेश राज विष्ट, कैलालीको जोशीपुर गाउँपालिकाका आशिष चौधरी र घोडाघोडी नगरपालिकाका नारायणप्रसाद न्यौपानेको शव आफन्तलाई बुझाइएको हो ।
मृतक चार युवा विद्यार्थीको शव नेपाली सेनाको स्काईट्रकमार्फत् आज धनगढी विमानस्थलमा पु¥याइएको थियो । शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थलमा पुगेका थिए । इजरायलमा मारिएका दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथका लोकेन्द्र सिंह धामीको शव दार्चुला ल्याइदैछ । धामीको शव धनगढीबाट आज साँझ ६ बजे दार्चुलाका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिव राज जोशीले जानकारी दिए । यस्तै दार्चुलाको लेकमका दिपेश राज विष्टको शवलाई आफन्तको जिम्मा लगाइएको तथा भोलि कन्चनपुरमै अन्त्येष्टी गरिने जनाइएको छ । दिपेशराज विष्टका परिवार–आफन्त कन्चनपुरस्थित निबुवाखेडा बस्छन् ।
धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामी, प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामी, मृतक विद्यार्थीलाई अध्ययन गराएका सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, आफन्तजनलगायतले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे । गत असोज २० गते हमास समूहको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए ।