पोक्सेमा प्रविन कमला स्मृति वडास्तरीय भलिबल प्रतियोगिता हुने

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–४ पोक्सेमा प्रथम प्रविन कमला स्मृति वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ । ‘खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो’ भन्ने मूल नाराका साथ दीपज्योती संघर्ष समाज पोक्सेको आयोजनामा प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगिता यहि कात्तिक २० गतेदेखि सुरु हुने दीपज्योती संघर्ष समाज पोक्सेका अध्यक्ष कुन्दन सिंह कार्कीले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ बिजेता टोलीलाई नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपबिजेतालाई रु. १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै पुरुषतर्फ बिजेता टिमले नगद रु ६१ हजार १११ र उपबिजेता टोलीले नगद रु. ३१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विधागततर्फ समेत पुरस्कारको व्यवस्था गरिएको छ । बेष्ट स्पाइकर, बेष्ट डिफेन्स, र अनुशासित खेलाडीलाई १÷१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष कार्कीले बताए । टिम दर्ता शूल्य पुरुषतर्फ ५ हजार ५ सय र महिलातर्फ १ हजार ५ सय रुपैयाँ तोकिएको छ । टिम दर्ता कात्तिक १९ गतेसम्म गराइसक्नुपर्नेछ ।

गत बैशाख २१ गते दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलिङ वनको हिमपहिरोमा परी मृत्यु भएका दुुहुँ गाउँपालिका–४ का कमला कुँवर र प्रवीन कुँवरको सम्झनामा पहिलो पटक भलिबल प्रतियोगिताको आयोजना गरिन लागिएको खेलकुद संयोजक राजेन्द्र सिह कार्कीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.