मार्मा गाउँपालिकाले भूकम्प पीडितलाई डेढ लाख सहयोग गर्ने

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकाले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका अध्यक्ष जमन सिंह धामीको अध्यक्षतामा मंगलवार बसेको बैठकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । भूकम्प पीडित परिवारका लागि मार्मा गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको मार्मा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सुरेन्द्र महताले जानकारी दिए । भूकम्प पीडितहरुका लागि केही राहत होस् भनेर सहयोगको निर्णय गरिएको उनले बताए । गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका गरी १ सय ५७ मानिसको मृत्यु भयो भने हजारौं घर क्षतिग्रस्त भएका छन् ।

Leave A Reply

Your email address will not be published.