दार्चुला : बैतडी घर भइ दार्चुला जिल्ला सदरमुकाम खलंगामा पसल थापी व्यवसाय गरिरहेका केशवराज भट्ट सम्पर्कविहीन भएका छन् । दार्चुलाको खलंगास्थित योगेन्द्र फेन्सी स्टोरका सञ्चालक भट्ट मंसिर १८ गतेदेखि परिवारको सम्पर्कमा छैनन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट कपिन्ना घर भएका भट्ट दार्चुलाको खलंगामा लामो समयदेखि व्यवसाय गर्दै आएका थिए । उनको महाकाली नगरपालिका–४ छत्रीचौरस्थित कपडा पसल छ । मंसिर १९ गतेदेखि पसलमा ताला ठोकेर भट्ट नजरमा नरहेको त्यहाँका व्यवसायीहरुले बताएका छन् । भट्ट फोन सम्पर्कमा नरहने गरी बेपत्ता भएपछि उनको परिवार चिन्तामा डुबेको छ ।
बुवाको खोजीका लागि बैतडीबाट समेत उनका छोरा दार्चुला पुगेका छन् । यसबीचमा आज मात्रै बैतडीका स्थानीयले भट्टलाई भारतको पिथौरागढमा देखेको बुझिन आएको छ ।