दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई मोबाईल फोन प्रयोग गर्न निषेध गरिएको छ । विद्यालयले बुधवारदेखि लागू हुने गरी मोबाइल फोनमा निषेध गरेको हो । किशोरावस्थाका विद्यार्थीहरुले विद्यालयमा मोबाइल फोनको दुरुपयोग गरेर विभिन्न नकारात्मक गतिबिधिहरुमा संलग्न हुन थालेको, पढाइमा ध्यान कम दिने गरेको र कक्षामासमेत अबैध रुपमा मोबाइल फोनको प्रयोग हुन थालेपछि विद्यालय समयभित्र मोबाइल प्रयोगमा बन्देज लगाइएको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए ।
विद्यालयमा मोबाइल फोन निषेध गरिएको बारे जिल्ला प्रहरी कार्यालय दार्चुलाले मंगलवार विद्यालयमा आयोजना गरेको अनुशिक्षण कार्यक्रममा जानकारी गराइएको हो । विद्यालयमा मोबाइल फोन निषेधबारे प्रहरीले समेत चासो राख्ने भएकाले यसको कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले विशेष सहयोग गर्ने प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले बताए । साथै उनले अब देखि विद्यालयको प्रवेशद्धारमा प्रहरी खटिएर विद्यार्थीको मोबाइल फोन चेकजाँच गर्ने बताए ।