भारतले खोतिला क्षेत्रमा ७५० मिटर पक्की तटबन्ध बनाउँदै, पुरानो सहमति कार्यान्वयन गर्न नेपालको जोड

दार्चुला : भारतले धारचुलास्थित महाकाली नदीको खोतिला क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । धारचुलाको घटखोलादेखि तल्लो खोतिलासम्म ७५० मिटर लम्बाइ र ७ मिटर उचाईको पक्की तटबन्ध निर्माण भइरहेको हो । तटबन्ध निर्माण गर्ने वातावरणको सहजताको लागि समन्वय गर्न धारचुलाका एसडीएम र तटबन्ध निर्माण गरिरहेको सिंचाइ विभागका ईन्जिनियरसहितको टोली नेपाल आएर आवश्यक समन्वय र सहयोगको माग गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

मंसिर २४ गते तटबन्ध निर्माण स्थलको नेपालतर्फबाट दुबै देशका प्रशासन अधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका छन् । भारतको धारचुलाका एसडीएम मंजित सिंह गील, सिंचाइ विभागका निमित्त प्रमुख ईन्जिनियर चन्द्र शेखर आर्य, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, भूमि आयोगका अध्यक्ष लालसिंह धामी, शसस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्ट, प्रहरी प्रमुख शिव बहादुर सिंह, प्रमुख अनुसन्धान अधिकृत भोगेन्द्र बहादुर चन्द लगायतले अनुगमन/निरीक्षण गरेका हुन् । अनुगमन/निरीक्षणका क्रममा भारत धारचुलाका एसडीएम मंजित सिंहले खोतिलाको पहिरो क्षेत्रमा तटबन्ध निर्माण गर्न नेपालको सहयोग चाहिने भएकाले लास्कु खोलामा नदीको धार फर्काउन सहयोग गर्नुपर्ने बताएका थिए । तर, तटबन्ध निर्माण बारे भारतले पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने कुरामा नेपाली प्रशासनले जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीले महाकाली नगरपालिका–४ बांगाबगर पारीपट्टि तटबन्ध निर्माणका क्रममा नदी किनारमा बनाएको अस्थायी (तारजाली, ढुंगा, गिट्टी बालुवासहितको) तटबन्ध हटाउनुपर्ने शर्त राखिएको बताए ।

उनले भने–‘पहिला भारतले पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने हुन्छ, तब मात्र नेपालको तर्फबाट सहयोग गर्न सकिने वातावरण बन्छ । हाम्रो चाहना दुबै देशका प्रशासन बीच आपसी सम्बन्ध र समन्वय कायम होस् भन्ने हो ।’

२०७९ पुस २४ गते नेपाल–भारतका अधिकारी र बांगाबगरका स्थानीयहरुसमेतको उपस्थितिमा ११ बुद्धे लिखित सहमति भएको थियो । तर, भारतले उक्त सहमति कार्यान्वयन गरेको थिएन । जसका कारण तटबन्ध निर्माणमा विवाद सृजना भई तनावको स्थितिसमेत उत्पन्न भएको थियो ।

दार्चुलाको महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रको पारी धारचुलाको स्टेडियम छेउदेखि घट्टेखोलासम्म महाकाली नदी किनारमा भारतले करिब १ किलोमिटर लम्बाई ९ मिटर उचाइको पक्की तटबन्ध निर्माण सम्पन्न गरेको छ ।

Leave A Reply

Your email address will not be published.