सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

दार्चुला : गुड नेवर्स ईन्टरनेशनल र दार्चुला विकास संगठनको दुहुँ गाउँपालिकामा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक ग्रामिण विकास समाज नेपाल र दार्चुला विकास संगठन दार्चुलाको सहजीकरण, गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र दुहुँ गाउँपालिकाको समन्वयमा सोमवार एक कार्यक्रमका बीच सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत दुहुँ गाउँपालिकामा गुड नेवर्स ईन्टरनेशनलले स्पोन्सरसीप, बाल संरक्षण, शिक्षा, सामाजिक तथा आर्थिक क्षेत्रमा कार्य गरिरहेको छ । सन् २०१८÷०१९ मा कार्यक्रम लागू गर्न समन्वय तथा पहल गरिएको दुहुँ गाउँपालिकामा परियोजनाले ३५० जना र स्थानीय सरकारले २५० जना लक्षित बाबालिकाको सम्झौता गरेको थियो । फलस्वरुप दुहुँ गाउँपालिकामा अहिले ६ सय बालबालिका यस कार्यक्रमबाट लाभान्वित छन् । सामाजिक लेखा परीक्षण कार्यक्रममा सन् २०२३ जनवरी देखि हालसम्म भए गरेका कार्यक्रम तथा बजेट बारे जानकारी गराइएको थियो । यस अवधीमा स्पोन्सरसीप क्षेत्रमा गुड नेवर्स ईन्टरनेशनलले ६० जना नयाँ स्पोन्सर बालबालिका दर्ता गरेको छ ।

घरभेट तथा परामर्श १ हजार १ सय ४५ घरधुरीमा, वार्षिक पत्र लेखन १ हजार २ सय २ जना, २ घरधुरीलाई मृत्यु संस्कारमा किरिया खर्च वितरण, प्रायोजित बालबालिकाको उच्च शिक्षा नक्सांकन २ सय ३५ जना, कार्यक्रमबाट बाहिरिने १५८ जना बालबालिकाहरुलाई मायाको चिनो प्रदान गरेको जनाएको छ । यस्तै शिक्षा क्षेत्र प्रारम्भिक बालविकासमा २ कोठे बालविकास भवन निर्माण, १३ विद्यालयमा बालबाविकास सहजकर्ताहरुका लागि शैक्षिक सामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम, २ विद्यालयमा बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको छ । यसैगरी शिक्षा क्षेत्र माध्यमिकमा १८ विद्यालयमा कक्षाकोठा अवलोकन तथा प्राविधिक सहयोग, अतिरिक्त क्रियाकलापमा सहयोग, प्रधानाध्यापक, एसएमसी, पीटीए र अन्य सरोकारवाला निकायबीच अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, उच्च शिक्षा सहायता प्रदान गरिएको छ ।

स्पोन्सरसीप कार्यक्रम, शिक्षा क्षेत्र, बाल संरक्षण क्षेत्र, अनुगमन तथा मूल्यांकन क्षेत्र, आय आर्जन तथा जीविकोपार्जन क्षेत्र र प्रशासनिक खर्चमा गरी कूल १ करोड ३२ लाख, १६ हजार ८ सय बिनियोजित बजेटमा १ करोड २८ लाख ५० हजार ६ सय ९४ रुपैयाँ खर्च भएको जनाएको छ । सीआरडीएस नेपाल स्थानिय साझेदारी संस्थाका रुपमा रहेको गुड नेवर्स ईन्टरनेशनलले दार्चुलाका दुहुँ गाउँपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको वडा नम्बर ९ मा कार्य क्षेत्र बनाई काम गरिहेको छ । यहाँ अहिले १ हजार २ सय २ स्पोन्सर बालबालिका रहेका छन् ।

यसैगरि मालिकार्जुन गाउँपालिकामा वालविवाह न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रम भईरहेका छन् भने मालिकार्जुन गाउँपालिका वडा नम्बर २ र ६ लाई बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने तयारि भईरहेको छ । यस्तै दार्चुला विकास संगठन दार्चुलाले दुहुँ गाउँपालिकामा स्वास्थ्य र खानेपानीका क्षेत्रमा काम गरिरहेको छ ।

दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती बमको अध्यक्षतामा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा ५ वटै वडाका वडाअध्यक्ष, पालिका अन्तर्गतका शाखा प्रमुखहरु, जीएनआईका कार्यक्रम संयोजक खडक बोहरा, सीआरडीएस नेपालका शिक्षा तथा संरक्षण अधिकृत उदय बोहरा, दार्चुला विकास संगठनका जनस्वास्थ्य अधिकृत दिपा भट्टलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.