चुनाव हारेका नेतालाई राष्ट्रिय सभामा लैजाने होडबाजी

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्यहरूले पटक–पटक अवसर पाएका, संघ, प्रदेश र स्थानीय तहका चुनावमा पराजित भएका  र समानुपातिक सूचीमा परेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन नेतृत्वलाई दबाब दिएका छन् । पार्टीको  बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश सदस्यले राष्ट्रिय सभा गठनको मर्मअनुसार अवसर नपाएका, विज्ञ र अनुभवी नेतालाई समेट्न जोड दिएका हुन् ।

त्यसो हुन नसके पार्टीले आम जनताको भरोसा र विश्वास गुमाउने चेतावनी केन्द्रीय सदस्यहरूले दिएका छन् ।मन्त्रीहरूको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बोलाइएको बैठकमा सदस्यहरूले राष्ट्रिय सभा सदस्यको निर्वाचन, मन्त्रीहरूको कामकारबाही र भ्रष्टाचार काण्डका विषयमा धारणा राखेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए । माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसमा ४ सयभन्दा बढी आकांक्षी सिफारिस भएर आएका छन् ।

तीमध्ये मुख्य चर्चामा ०४८ सालदेखि निरन्तर अवसर पाएका, पटक–पटक चुनाव हारेका, समानुपातिक सूचीमा परेका केन्द्रीयस्तरका नेताहरू नै छन् । चुनावका बेलामा टिकट पनि नछाड्ने, टिकट नपाउँदा समानुपातिक सूचीमा समेत आफ्नै बस्ने नेताहरू फेरि घुमाउरो बाटोबाट राष्ट्रिय सभामा पनि जान खोजेको भन्दै केन्द्रीय सदस्यहरूले आक्रोश पोखेका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित एकतिहाइ ९२०० सदस्यको अवधि फागुन २० देखि सकिँदै छ । म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था रहेकाले रिक्तमध्ये १९ स्थानमा माघ ११ मा निर्वाचन हुँदै छ । राष्ट्रपतिबाट मनोनीत हुने महिलाको एक स्थान रिक्त छ । सत्ता गठबन्धनबीच दलीय भागबन्डा नमिल्दै राष्ट्रिय सभामा जानका लागि कांग्रेसमा पुरानै अनुहारका नेताहरूको तँछाडमछाड देखिएको छ । राष्ट्रिय सभाको अध्यक्षसमेत हुने लक्ष्य बनाएर पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा आउन चाहेका छन् । यी दुवै नेताहरू ०४८ सालदेखि निरन्तर अवसर पाएकामा पर्छन् ।

सिटौला ०७४/०७९ दुवै निर्वाचनमा पराजित नेता हुन् भने श्रेष्ठ टिकट नपाएपछि समानुपातिक सूचीको आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा थिए । समानुपातिकबाट सांसद हुन वञ्चित भए पनि श्रेष्ठले फेरि राष्ट्रिय सभा ताकेका छन् । संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य मीनेन्द्र रिजाल पनि राष्ट्रिय सभाको अध्यक्ष बन्ने प्रयासमा छन् । ०७९ मा उनको निर्वाचन क्षेत्रमा सुजाता कोइरालालाई टिकट दिएपछि रिजाल चुनावमा उठ्न पाएका थिएनन् । चुनावमा टिकट नपाए पनि उनी पटक–पटक सांसद र मन्त्री भइसकेका नेता हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत भएकी नेतृ सुजाता चुनाव हारे पनि फेरि राष्ट्रिय सभा आउने दौडधुपमा छिन् ।

राष्ट्रिय सभामा सदस्यका लागि आकांक्षा राख्ने केन्द्रीयस्तरका नेताहरूमा सहमहामन्त्री फरमुल्ला मन्सुर, आनन्द ढुंगाना, पुष्पा भुसाल, डिना उपाध्याय छन् । त्यस्तै गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा विवादास्पद निर्णयले चर्चा कमाएका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्वअर्थ राज्यमन्त्री तथा लेखा समितिका पूर्वसभापति भरत शाहसमेत राष्ट्रिय सभा जाने दौडमा छन् । गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापालगायत दौडधुपमा छन् ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार एउटा समूहमा बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरिए पनि तलबाट सबैको नाम पठाइएकाले आकांक्षीको संख्या बढी भएको हो । बैठकमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले बिनाविभेद उम्मेदवार चयन गर्ने गरी पार्टीमा मापदण्ड बनाइनुपर्ने बताए । पार्टीका प्रचार विभागका प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले कसैलाई सधैंभरि र कसैलाई कहिल्यै नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । केन्द्रीय सदस्य डिला संग्रौलाले न्यायको सिद्धान्तअनुसार मापदण्ड बनाउन माग गरिन् भने अर्का केन्द्रीय सदस्य दीपक गिरीले सबैलाई समेट्न, पार्टीभित्र भेदभाव नहुने गरी मापदण्ड बनाएर मात्रै उम्मेदवार चयन गर्नुपर्ने बताए ।

नेता गिरीले गरिब जनताले सहकारीमा जम्मा गरेको पैसा ठग्ने जोसुकैका विरुद्धमा भन्डाफोर अभियान चलाउनुपर्ने मागसमेत राखे । उनले राज्यका निकायलाई सहकारी ठगीमा गम्भीर हुनसमेत ध्यानाकर्षण गराए । टेरामक्स र एनसेललगायत प्रकरणमा कांग्रेसले संरक्षण दिने गरेको सन्देश जान थालेको भन्दै यसलाई चिरेर अघि बढ्न पार्टीले विशेष अभियान चलाउनुपर्ने मागसमेत उनले गरे । बैठकमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कार्यसम्पादनप्रति सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए । ‘मन्त्रीहरूको कामप्रति प्रधानमन्त्रीकै असन्तुष्टि आयो । जनताले पनि राहत महसुस गर्न पाएका छैनन् । मन्त्रीले काम गर्न नसकेको हो कि काम गर्न नदिइएको हो, स्पष्ट पार्नुपर्छ,’ केन्द्रीय सदस्य मुक्ता यादवले भनिन् ।

बिहीबार मन्त्रिपरिषद्को बैठकसमेत परेकाले मन्त्रीहरूले आफ्नो कार्यसम्पादनको प्रगति विवरण भने बैठकमा राख्न नभ्याएको अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए । बैठकमा स्वास्थ्यमन्त्री मोहन बस्नेतले मात्रै आफ्नो कार्यसम्पादनका विषयमा धारणा राखेका थिए । केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रीका कामकारबाहीको निगरानी राख्न पार्टीले संयन्त्र बनाउनुपर्ने माग अघि सारे । केन्द्रीय सदस्य राजीव कोइरालाले मन्त्रीहरूको काम पनि गुटका आधारमा हुने गरेको आरोप लगाए ।

महामन्त्री गगन थापाले आगामी पुस १६ देखि माघ १२ गतेसम्म समुदायमा कांग्रेस अभियानको प्रस्ताव राखेका छन् । सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित बासिन्दाका लागि पार्टी संयन्त्रले गरेका कामका बारेमा जानकारी गराएका थिए । बैठक लाइभका विषयमा सभापति देउवाले नै अनिच्छा देखाएको एक केन्द्रीय सदस्यले बताए । यसअघि पार्टीका अधिकांश नेताहरूको विरोधका बाबजुद देउवाले बैठक लाइभ गराएका थिए । सभापतिको कार्यशैलीप्रति पार्टीमा चर्को विरोधका बेला उनले केही शक्ति केन्द्र र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई देखाउनकै लागि बैठक लाइभ गर्ने रणनीति बनाएको बुझाइ कांग्रेसमा चलेको थियो । ‘हामीलाई एक–दुई वटा बैठक पछि हुँदैन भन्नेमा निश्चिन्त नै थियो ।

बैठकको पारदर्शिताभन्दा पनि शक्ति केन्द्र र पार्टीभित्रकै विरोधी समूहलाई आफ्नो शक्ति देखाउने उद्देश्यका साथ बैठक लाइभ गरिएको हो,’ संस्थापन इतरपक्षीय एक नेताले भने, ‘त्यो उद्देश्य पूरा भएपछि सभापति देउवा नै लाइभ नगर्ने स्थितिमा आइपुग्नुभयो ।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.