दार्चुला – दार्चुला भन्सार कार्यालय थप प्रविधिमैत्री बन्दै गएको छ । पछिल्लो समय कार्यालयले कार्यालय सम्बन्धी बिभिन्न सामाग्री अन्लाईन प्रविष्ट गरिरहेको छ।
यस्तै कार्यालयले वेव साइट संचालनमा ल्याएको छ । कार्यालयबाट प्रवाह गरिने सेवा, जारी गरिने सूचना तथा कार्यालय संग सम्बन्धित गतिविधिबारे सेवाग्राहीले सहजै रुपमा जानकारी प्राप्त गरुन भन्ने उद्देश्यले वेव साइट संचालनमा ल्याइएको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए ।
वेव साइटमार्फत सेवाग्राहीले राजश्व असुली तथ्याङ्क, कार्यालयको परिचय, संगठन संरचना, सूचना अधिकारी, नागरिक वडापत्र, कर्मचारी विवरण लगायतका बारेमा सहजै जानकारी प्राप्त गर्न सक्ने उनले बताए ।
कार्यालयले www.customs.gov.np/darchula वेव साइट संचालनमा ल्याएको छ । यसैबीच दार्चुला भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/०८१ को ५ महिनामा २३ लाख ७ हजार १४ रुपैयाँ राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा २३ लाख ७ हजार १४ रुपैयाँ संकलन गरिएको कार्यालय प्रमुख प्रसादले जानकारी दिए।
कार्यालयले साउन महिनामा ६ लाख ७० हजार ४८१, भदौमा ४ लाख ६ हजार ७१, असोजमा ४ लाख ४९ हजार १६८, कार्तिकमा ४ लाख १३ हजार २०१ र मंसिरमा ३ लाख ६८ हजार ९३ गरी जम्मा २३ लाख ७ हजार १४ रुपैयाँ संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा ४० लाख ८१ हजार ४०२ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । यो तथ्यांक विगतका वर्षको तुलनामा सुधारात्मक देखिएको हो ।