दार्चुला – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै अफ्रिदीले आतिथ्य सत्कारका लागि नेपालीलाई धन्यवाद दिएका छन् ।
‘शाही आतिथ्य सत्कारका लागि नेपालीलाई हृदयदेखि नै धन्यवाद र म विमानबाट बाहिर निस्किनेबित्तिकै घरजस्तै महसुस भयो । निकै धेरै सम्झना लिएर घर फर्किएको छु’, उनले ट्विटरमा लेखेका छन् ।
साथै अफ्रिदीले नेपाल र पाकिस्तानबीच खेलको योजना बनाएको पनि ट्विटरबाटै जानकारी गराएका छन् ।
अफ्रिदी काठमाण्डौ किङ्ग्स इलेभेनबाट चौथौ संस्करणको ईपीएलको दुई खेल खेल्न गएको बिहीवार नेपाल आएका थिए । उनले दुई खेल खेल्ने कार्यक्रम रहे पनि एक खेलमात्र खेलेर फर्किएका हुन् । गएको शनिवार अफ्रिदीले ललितपुर प्याट्रियटर्सविरुद्ध खेलेका थिए । त्यस खेलमा ४ ओभरमा ३२ रन दिएका अफ्रिदीले विकेट हात पारेनन् । काठमाण्डौले ललितपुरलाई सात विकेटले हराएको खेलमा उनले ब्याटिङ गर्नुपरेको भने थिएन ।