समितिले खानेपानीको महसुल न्युनतम १५० रुपैयाँ मात्रै उठाउने

दार्चुला : खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ताबाट खानेपानीको न्युनतम महसुल १ सय ५० रुपैयाँ मात्रै उठाउने भएको छ । खानेपानीको मिटर जडान गरेदेखि केहि उपभोक्ताका मिटर धेरै घुम्दा बील बढी आएपछि पानी महंगो भएको भन्दै विरोध हुदैँ आएको थियो । यसै समस्यालाई समाधान गर्न जिल्ला प्रशासनले शुक्रवार डाकेको बैठकमा खानेपानी समितिले उपभोक्ताबाट प्रति महिना न्युनतम शूल्क १ सय ५० रुपैयाँ लिने बताएको हो ।

खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जयदेव जोशीले खलंगा शहरी खानेपानी तथा सरसफाई आयोजनाको प्रथम चरणको कार्य पूरा भइसकेको जनाउँदै दोस्रो चरणमा निर्माण व्यवसायीद्धारा निर्माण कार्य भइरहेकाले उपभोक्ताका घरमा जडान गरिएका मिटर असमान घुमिरहेको देखिएकोले व्यवस्थापन कार्य सम्पन्न नभएसम्म तथा समितिको अर्को निर्णय नहुन्जेलसम्म न्युनतम महसुल लिने बताए । उनले थपे– यसअघि बढी बील आएकाबाट पाँच सय रुपैयाँसम्म लिने गरेका छौ ।

महाकाली नगरपालिका बजार क्षेत्रका वडा नम्बर ४ र ५ का उपभोक्तालाई २४ सैँ घण्टा खानेपानीको आपूर्ति गर्नेगरी २०७७ असोज २२ गते आयोजना व्यवस्थापन कार्यालय, महाकाली नगरपालिका र उपभोक्ता समितिका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । यसमा ५ प्रतिशत लाभान्वित उपभोक्ताको लागत, २५ प्रतिशत नगर विकास कोषबाट ऋण अनुदान र नेपाल सरकारबाट ७० प्रतिशत अनुदान लागत रहेको छ ।

खलंगा शहरी खानेपानी तथा सरसफाई आयोजनाको कार्य ग्वाल्लेक निर्माण सेवाले गरिरहेको छ । अहिलेसम्म पहिलो चरणको कार्य सम्पन्न भएको छ । दोस्रो चरणको कार्य मार्च महिनामा सम्पन्न हुने भएता पनि कार्य पूरा हुन सकेको छैन् । कार्य सम्पन्न नभएकाले निर्माण व्यवसायीले आयोजनालाई समितिलाई हस्तान्तरण गरेको छैन् । यस आयोजनाको उदेश्य अनुसार निर्माण व्यवसायीद्धारा काम नभएको भन्दै समयमै सम्पन्न हुनेमा शंका पनि गर्न थालिएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ का पूर्व अध्यक्ष पुस्कर राज जोशीले आयोजनाको मेन लाइनमै फल्ट रहेकाले आयोजना अस्तव्यस्त रहेको बताए । साथै उनले यसमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाउँदै छानवीन आवश्यक रहेको सुझाए ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, चार वटै सुरक्षा निकायका प्रमुखहरु, महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडाल, सम्बन्धित वडाका अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, खलंगा शहरी खानेपानी तथा सरसफाई आयोजनाको काम गरिरहेको निर्माण व्यवसायीका प्रतिनिधि, खलंगा खानेपानी ढल तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसहित पदाधिकारी, नागरिक समाज, पत्रकार लगायतको उपस्थितिमा महाकाली नगरपालिका वडा नम्बर ४ र ५ मा देखिएको खानेपानी सम्बन्धी समस्या समाधानका लागि बोलाइएको बैठकमा विभिन्न निर्णय समेत भएका छन् ।

निर्माण व्यवसायीको तर्फबाट खलंगा शहरी खानेपानी तथा सरसफाई आयोजनाका बाँकी रहेका कामहरु तत्कालै सुचारु गर्ने, उपभोक्ता समितिले १५ दिनभित्र निर्माण व्यवसायीका प्रमुख वा आधिकारिक व्यक्तिलाई बोलाइ बाँकी रहेका काम, कारवाही र व्यवस्थापकीय सुधारका कामहरु सम्पन्न गर्न छलफल गर्ने र बाँकी काम सम्पन्न नहुन्जेलसम्म निर्माण व्यवसायीलाई कुनै पनि बील भुक्तानी नगर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.