दार्चुला- दार्चुलामा माघी पर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ । चाडपर्वमा कालोबजारी र अखाद्य वस्तुको व्यापार हुने .कुरालाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको हो ।
आइतवार महाकाली नगरपालिकाको बजार क्षेत्रका वडा नम्बर ४ र ५ का पसलहरुमा नमूनाका रुपमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए ।
वडा नम्बर ४ र ५ स्थितका १० पसलहरुमा अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा ती पसलहरुबाट म्याद नाघेका २ हजार ३ सय ४० रुपैयाँ मूल्य बराबरका अखाद्य सामान बरामद गरि नष्ट गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ का मापदण्ड पालन गरी व्यवसाय तथा कारोबार गर्न अनुरोध गरिएको छ । यस्तै बजार अनुगमन जुनसुकै बेला पनि हुन सक्ने प्रशासनले जनाएको छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, महाकाली नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत पत्रकारको उपस्थिति रहेको थियो ।