दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिका–६बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० बर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक बैधानिक विवाह सम्पन्न गरेका छन् ।
पनाती पनातनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसँग बिहे गर्नुभयो । शक्रबार बिहे गरेका धामी दम्पतिको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातिनी, ३ नातने बुहारी, ४ पनाती र ३ पनातनी गरी जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती नाता पर्ने भगतसिंह धामीले जानकारी दिए ।
बेहुला (दुलहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उहाँले बताउनुभयो । दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको छ । दुलहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुरपोते लगाउनुका साथै यज्ञ परिक्रमासहित सबै बिहेविधि पूरा गरेर घरभित्र सांस्कृतिक परम्पराअनुसार भित्र्याएका छन् ।
धामी दम्पतिको यो बिहेले सांस्कृतिक सन्देश समेत दिएको स्थानीयहरुले बताएका छन् । बिहे र बिहेभोजमा सबै स्थानीय आफन्त, इष्टमित्रले यो उमेरमा बिहे गरिरहेका धामी दम्पतिलाई जिस्क्याएर रमाइलो गरेका थिए । बुढेसकालमा बिहे गर्न पाउँदा रमाइलो अनुभुति भएको धामी दम्पतिको भनाइ छ ।