दार्चुला- नेपाली काँग्रेसको समुदायमा काँग्रेस अभियान मंगलवार देखि सुरु भएको छ । समुदायमा गएर नागरिकका कुरा सुन्ने र बुझ्ने अभिप्रायले यो अभियान संचालन गरिएको हो । दार्चुला जिल्लाका ६१ वटै वडामा सामाजिक कार्य सहित अभियान संचालन गरिएको पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस दार्चुलाले जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय प्रतिनिधि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिंह थापाले दार्चुला जिल्लाका सबै वडामा कुनै न कुनै सामाजिक कार्यसहित अभियान संचालन गरिएको बताए ।
उनले समुदायमै गएर नागरिकका गुनासा र समस्या सुन्न अभियान संचालन गरिएको बताए । यो अभियानमा काँग्रेसका कार्यकर्ता खटिने र समुदायका नागरिकका गुनासा, समस्या सुनी सम्बन्धित निकायको दबाव र सामाधानका लागि प्रतिवेदन पेश गरिने केन्द्रीय प्रतिनिधि थापाले बताए । अभियानको पहिलो दिन जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकाका वडा नम्बर ४ र ५ वडामा सामाजिक कार्यसहित अभियानको उद्घाटन गरिएको छ । वडा नम्बर ४ को आयोजनामा महाकाली नदी किनारमा सरसफाई गरिएको र वडा नम्बर ५ को आयोजनामा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको पत्रकार सम्मेलनका क्रममा काँग्रेसले जनाएको छ ।
समुदायमा काँग्रेस अभियानका लागि जिल्लाका ९ वटै पालिकामा संयोजक र ६१ वडामा प्रतिनिधि तोकि खटाइएको छ । अभियानमा जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरु सहभागी भई जनताका समस्या र गुनासा सुन्ने, स्थानीय, प्रदेश, केन्द्र सरकारसँग गुनासा र काँग्रेससँगका गुनासा सुन्ने र बुझ्ने बताइएको छ । माघ २६ गते स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसको सन्दर्भमा कार्यक्रमको समापन गरिने काँग्रेसले जनाएको छ ।
पत्रकार सम्मेलन नेपाली काँग्रेस पार्टी उपसभापति तथा कार्य बाहक सभापति महादेव बडू कश्यपको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिंह थापाको प्रमुख आतिथ्यतामा भएको हो ।