काठमाडौं– नेपालको गुप्तचर तथा जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागमा व्यापक हेरफेर गरिएको छ ।सुदूरपश्चिमसहित सबै प्रदेशस्थित जिल्लामा कार्यरत विभागका हाकिमहरुको सरुवा गरिएको हो ।
राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालयका प्रशासन हेर्ने डिआइजी भीमबहादुर बुढाथोकीले हाकिमहरुको सरुवा भैसकेको बताए । यसरी सरुवा हुनेमा सुदूरपश्चिमका केही एसपी र डिएसपी पनि छन् । कञ्चनपुरका एसपी पवन जोशीको बर्दिया सरुवा भएकोमा उनको स्थानमा बर्दियाबाट नरेश बम आएका छन्। कैलालीका प्रमुख एसपी हरिश विष्टको रुपन्देही सरुवा भएकोमा उनको स्थानमा बाँकेबाट मोहन कुँवर आएका छन्।
दार्चुलामा देवेन्द्र थापा आएका छन् भने उता डडेल्धुरामा दार्चुलाबाट डीएसपी भगेन्द्र चन्द सरुवा भई आएका छन्। यस्तै डोटीमा भने डीएसपी महेश अवस्थी गएका छन्। उनी डडेल्धुराबाट सरुवा भई गएका हुन्। यस्तै त्यस्तै विभागको प्रदेश कार्यालय सुदूरपश्चिममा काजमा कार्यरत डीएसपी दिलबहादुर चौधरीको प्रादेशिक कार्यालयबाट अछाम सरुवा भएको छ। बैतडीमा डीएसपी दिगम्बर गिरी आएका छन्।
उनको विभागबाट बैतडी सरुवा भएको बताइन्छ। उता बाजुरामा डीएसपी प्रभाकर पन्त आएका छन्। उनी पनि विभागबाटै खटाइएका हुन्।यता बझाङमा भने डीएसपी गोविन्द पाण्डे गएका छन्। उनी अछामबाट गएका हुन्।