शुभ साइतसँगै बडा दशैँको टीका–जमरा लगाउन थालियो

मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

काठमाडौं । आज बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी। बिहान १०:२६ बजेको उत्तम साइतसँगै मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम शुरू भएको छ।

यतिबेला घर–घरमा नवदुर्गाको प्रसादस्वरूप रातो टीका थाप्ने र आशीर्वाद लिनेको उल्लास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ८:४९ बजे देवी विसर्जनको र १०:२६ बजे टीकाको उत्तम साइत तोकेको थियो। सोही साइत पारेर घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउन थालिएको हो।

टीका लगाउँदा कुन दिशा फर्कने ?

टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्ने शास्त्रीय मान्यता छ। टीका लगाइदिने व्यक्ति भने पूर्व फर्किनुपर्छ। आज चन्द्रमा कुम्भ राशिमा रहेकाले यसरी बस्दा चन्द्रमा दाहिने र सम्मुख पर्छ। यसलाई निकै शुभ मानिन्छ।

विजयादशमी आफैँमा अत्यन्तै शुभ दिन हो। त्यसैले सामान्य मानिसले टीका लगाउन साइत नै खोजिरहनु पर्दैन। दिनभर जुनसुकै बेला टीका लगाउन सकिन्छ। तर, राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराई बताउँछन्। साइतमै टीका लगाउँदा देवीबाट विशेष शक्ति, मन्त्र र उत्साह प्राप्त हुने धार्मिक विश्वास छ।

 

आजको दिनलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक मानिन्छ। त्रेता युगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेका थिए। त्यही खुसियालीमा विजयादशमी मनाउन थालिएको हो। आज टीकासँगै लगाइने पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। जमराले विभिन्न रोग व्याधिमा औषधिको काम गर्ने वैज्ञानिक तथ्यसमेत पुष्टि भइसकेको छ।

आज बिहानबाट शुरू भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्छ। यद्यपि, नेपालका केही भागमा भने आज विजयादशमीको दिन मात्र रातो टीका र जमरा लगाउने चलन छ। यसैगरी, केही जाति र समुदायले आफ्नो कुल परम्पराअनुसार आज दही र अक्षता मुछेर सेतो टीका पनि लगाउने गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.