दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका जोड्न छोटो दूरीको सडकका रुपमा तिमुरपाटा–कालागाड हुँदै बडूगाउँ–धौलाकोट–माल जोड्ने सडकको काम दुहुँ गाउँपालिका–३ ठाडाइजर उतिसानीबाट सुरु गर्ने सहमति भएको छ ।
लामो समयदेखि विवाद रहेको यो सडकमा अहिले आएर राजनीतिक पार्टीहरुबीच समान धारणा बन्दा निर्माण कार्य गर्ने सहमति जुटेको हो ।
बिहीवार सर्वदलिय, सर्वपक्षिय तथा व्याँस र दुहुँ गाउँपालिकाका जनप्रतिनिधिहरु सम्मिलित छलफल बैठकबाट सडक निर्माण गर्ने सहमति जुटेको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । व्याँस गाउँपालिकालाई प्राप्त संघीय सम्पूरक अनुदानबाट यो सडक निर्माण गरिनेछ ।
बिहीवार सडक निर्माण गरिने जमिन र सो क्षेत्रको भौगोलिक अवस्थाको अध्ययन अवलोकन समेत गरिएको छ ।
छलफल बैठकमा व्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामी, प्रवत्ता उपेन्द्र सिंह धामी, दुहुँ गाउँपालिकाका प्रवत्ता तथा वडा नम्बर ३ का अध्यक्ष देवबहादुर बमं, दुहुँ गाउँपालिका–३ का निर्वतमान अध्यक्ष लालबहादुर बमं, नेपाली काँग्रेस दुहुँ गाउँपालिका–३ वडा सभापति जनक राज जोशी, व्याँस गाउँपालिकाका प्राविधिक प्रेम सिह कोट्टारी, चम्पेश्वर निर्माण सेवाका ईन्जिनियर हिरामणी तिमिल्सिना, काँग्रेस दार्चुलाका जिल्ला कार्य समिति सदस्य नरबहादुर बम, दुहुँ गाउँपालिका–३ खेतीका जग्गादाता लगायतको उपस्थिति रहेको थियो ।
यो सडक चम्पेश्वर निर्माण सेवाले निर्माण गर्ने ठेक्का पाएको व्याँस गाउँपालिकाले जनाएको छ । यो सडक निर्माण भए छोटो समयमै व्याँस गाउँपालिका प्रवेश गर्न सकिनेछ ।