दार्चुला – चितवन टाइगर्स चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेटमा बुधबारको खेलमा पोखरालाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
पोखरा राइनोजले दिएको ६७ रनको झिनो लक्ष्य चितवनले सात ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्दै फाइनलमा पुगेको हो । चितवनका लागि मोहम्मद शहजादले २६ बलमा ४८ रन बनाए । हसिम अन्सारीले अविजित १४ रन बनाए । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट लिए ।
यसअघि त्रिवि मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पोखरा १५ ओभरमा मात्र ६६ रन बनाउँदै अलआउट भएको हो । पोखराका लागि रिचार्ड लेभीले १९ र सुनिल धमलाले १८ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकाल र शाहब आलमले चार–चार विकेट लिए ।
यो खेल हारे पनि पोखराले दोस्रो क्वालिफायरको मौका पाएको छ । आजै हुने एलिमिनेटरको विजेतासँग पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटरमा भैरहवा ग्लाडियटर्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् ।
दोस्रो क्वालिफायर भोलि बिहीवार र फाइनल यही २३ गते शनिवार त्रिवि क्रिकेट मैदानमै हुनेछ ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।