काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मकवानपुर जिल्ला कमिटीको २८ औं अधिवेशन विवादित बनेको छ ।
अध्यक्षका आकांक्षी पुष्कर तिमिल्सिना बिरामी भएर अस्पताल भर्ना भएका बेला कमिटी घोषणा भएको भन्दै एक पक्षले विवाद गरेको हो ।अधिवेशनबाट अमृत बर्तौलाको अध्यक्षतामा १० पदाधिकारीसहित ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको घोषणा गरिएको छ ।
उक्त कमिटीमा अध्यक्षका आकांक्षी तिमिल्सिनालाई उपाध्यक्ष राखिएको छ । अध्यक्ष आकांक्षी अस्पताल भर्ना भएका बेला एकपक्षीय रुपमा घोषणा गरिएको भन्दै एउटा पक्षले विरोध जनाएको छ ।शुक्रबार बन्द सत्र सुरु हुन लाग्दा केही युवाहरुले अध्यक्षका आकांक्षी तिमल्सिनामाथि विवाद गरेका थिए । विवादपछि तिमल्सिना अधिवेशन स्थलमै लडेका थिए ।
उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । शनिबार उनी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेको परिवारका सदस्यले जानकारी दिएका छन् ।
अध्यक्षका आकांक्षी नै अस्पताल भर्ना भएपछि अधिकांश प्रतिनिधिहरुले साँझसम्म प्रक्रिया रोक्न अनुरोध गर्दा नेतृत्वबाट सुनुवाइ नभएको अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज किसन घिसिङले बताए ।
कमिटी घोषणा गरेको विरोधमा केही प्रतिनिधिहरुले अधिवेशनस्थलमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, स्थायी कमिटी सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज देवी ज्ञवाली, विद्यार्थी इञ्चार्ज किशोरबिक्रम मल्ल, अनेरास्ववियु सचिव तथा बागमती प्रदेश इञ्चार्ज सुजन कडरियाको अगाडि नाराबाजी गरेका थिए ।