अख्तियारले डामेका, आयोगले पोलेका मन्त्री र सांसद्लाई घर पठाउन गगन थापाको माग

अनि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका हुन् ।

‘अब यसो गर्न लगाऔं– आसन (सभामुखको आसन) को दाँया बस्ने होस् कि बाँया बस्ने होस् । काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं’ सांसद थापाले भने ।

उनले अगाडि भने, ‘अनि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके के होला रु निर्दोष भएर फर्किएर आउनुहोला फूल माला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड ब्यहोर्नुहोला ।’

यति गर्न सके बल्ल संसदमा मिटरब्याज पीडितको बारेमा, दूधको मूल्यको बारेमा, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिने भन्दै थापाले अन्यथा संसदमा दोहोरी चलिरहने धारणा राखे ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.