काठमाडौं– माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले खामलाई ठमेलबाट पक्राउ गरेको हो । हतियार र नगद चोरी प्रकरणमा खाम नेतृत्वको समूहले श्रेष्ठको अपहरण तथा हत्या गरेको आरोप लागेको थियो ।
२०६५ सालमा व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो । २०६५ वैशाख १५ गते श्रैष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए ।
त्यतिबेला श्रेष्ठलाई चितवनस्थित माओवादी लडाकुको शक्तिखोर शिविरमा पुर्याइएको थियो । श्रेष्ठको घरमा जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । उक्त कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र हतियार चोरी भएको भन्दै श्रेष्ठलाई खामको समूहले उठाएको थियो ।
शक्तिखोर शिविरबाट मारिएका रामहरी श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले खाम र गोविन्द बहादुर बटालासहितविरुद्ध २०६५ जेठ ८ गते किटानी जाहेरी दिएकी थिइन् । बटाला जेल सजाय काटेर रिहा भइसकेका छन् र माओवादी राजनीतिमा क्रियाशील छन् । खामलाई भने फरार बनाएर राखिएको थियो ।
बटालाविरुद्ध फैसला भएपनि अन्यका हकमा मुद्दामा मुल्तवीमा छ । घटनादेखि खाम फरार रहेका थिए । राजनीतिक संरक्षणका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।
चोरीको घटनापछि जनमुक्ति सेनाको तेस्रो डिभिजन कार्यालयले अधिकारी र थापालाई नियन्त्रणमा लिएर शक्तिखोर शिविरमा पुर्याकएको थियो । शक्तिखोरका ब्रिगेड कमान्डर जीवित भनिने बटालाले खामको निर्देशनमा पछि श्रेष्ठलाई पनि शिविरमा ल्याएका थिए ।
निर्घात कुटपिटपछि सख्त घाइते भएका श्रेष्ठलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएपछि नारायणी नदीमा फ्याँकेको भन्दै डिभिजन हेडक्वार्टरलाई रिपोर्टिङ गरेको र बटालालाई कारबाहीका लागि पठाएको जनमुक्ति सेना नेपाल तेस्रो डिभिजन शक्तिखोरलाई प्रहरीलाई पत्र पठाएको थियो ।
बटालाले बयानका क्रममा श्रेष्ठको शव चितवनको साविक दाहाखानी गाविस–९ भालुवाङस्थित त्रिशूली नदीको पुलबाट नदीमा फ्याँकेको बताएका थिए ।
श्रेष्ठको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु टाउकोमा धारिलो हतियारको चोटका कारण भएको देखिएको थियो । खामविरुद्ध चिनियाँ व्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैयाँ लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।