दार्चुला । दार्चुलाको व्यासँ गाउँपालिका वडा–४ डोकटमा आयोजना गरिएको सुदूरपश्चिमेलीहरूको महान् चाड गौरा पर्वको अवसरमा सञ्चालित वडा स्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिताको पुरुषतर्फ रौतेउडा युवा क्लब विजयी भएको छ। फाइनल खेलमा आयोजक एमबीसी डोकटलाई पराजित गर्दै रौतेउडा युवा क्लबले उपाधि हात पारेको उपेन्द्र सिंह धामीले जानकारी दिनुभयो।
त्यस्तै, महिलातर्फ नौगाड गाउँपालिका–१ लक्सेरीको टोली विजयी भएको छ भने नौगाड–६ धुलिगाडाको टोली उपविजेता बनेको छ।
गौरा पर्वको अवसरमा आयोजित प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा कायम गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
