दार्चुला । दिल्ली भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले दुई महिना अगाडि दार्चुलामा भएको तुइन काण्डका विषयमा भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको ध्यानकर्षण गराएका छन् ।
भारतीय एसएसबीका जवानले तुइन काटिएदिएपछि ’पाली नागरिक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उक्त घटनामा एसएसबी जवानको संलग्नतासहित नेपाल सरकारले गरेको छानबिनमा उल्लेख छ । त्यस विषयमा भारतीय राजनीतिक तहको उच्च तहमा पहिलोपटक कांग्रेस नेता महतले कुरा राखेका छन् । यसअघि ठूलो दबाबपछि मात्रै नेपाल सरकारले उक्त घट्नाका बारेमा भारतलाई कुटनीतिक नोट पठाएको थियो । तर, एक महिना भइसक्दा पनि भारतले त्यसको कुनै रेस्पोन्स गरेको छैन ।
शुक्रबार भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा महतले दार्चुला घटनाका विषयमा भारतले पनि छानबिन गरेर तथ्य कुरा बाहिर ल्याइदिन आग्रह गरेका हुन् । ‘त्यस घटनामा नेपाली जनता र सरकारको चासो छ, हाम्रो अनुसन्धानले एसएसबीको संलग्नता देखाएको छ, तल्लो तहमा कुनै एक जवानबाट गल्ती भएको हुनसक्छ,’ भेटपछि महतले भन्नुभयो ‘त्यसबारेमा अनुसन्धान गरेर तथ्य कुरा बाहिर ल्याइदिनुभयो भने त्यसले भारतप्रति सम्मान थप बढ्ने आग्रह गरेका छौं ।’
त्यस विषयमा नेपाल सरकारले कुटनीतिक नोटसमेत पठाइसकेको ध्यानाकर्षण पनि महतको टोलीले गराएको छ । त्यस घटनलाई गम्भीरता पूर्वक हेरिदन आफूहरुको आग्रह रहेको महतले बताउनुभयो ।
पत्यूत्तरमा विदेशमन्त्री जयशंकरले त्यसबारे अनुसन्धान गरिने उल्लेख गरेको महतले जानकारी दिनुभयो । महतसहितको टोलीले नेपाल र भारतबीच देखिएका कतिपय विवादहरु कुटनीतिक वार्ताका माध्यमबाट समाधान गर्नमा जोड दिएका थिए । ‘कुटनीतिक वार्ताहरु बढाउनुपर्यो भन्ने हाम्रो आग्रह रह्यो,’ महतले भन्नुभयो ‘त्यसले राम्रो सन्देश दिन्छ, विवाद समाधानलाई मद्दत गर्छ ।’ उहाँले आफूहरुले धेरैजसो विषयमा भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । सीमा विवाद, दार्चुला घट्ना, मलको आपूर्ति, कोभिड विरुद्ध खोपको आयातलगायत धेरैजसो विषयमा कुराकानी भएको उहाले उल्लेख गर्नुभयो ।