काठमाडौँ— नेपालले कतारी राजालाई दुईवटा हात्ती उपहार दिने भएको छ । ‘कन्जर्भेसन’ कूटनीतिलाई जोड दिँदै नेपालले ती हात्ती उपहार दिन लागेको एक वन तथा वातावरण मन्त्रालयका अधिकारीले जनाए ।
‘नेपालका तर्फबाट प्रधानमन्त्रीज्यूले दुईवटा हात्ती हस्तान्तरण गर्ने कार्यक्रम छ,’ ती अधिकारीले भने, ‘हात्तीलाई कसरी स्याहारसुसार गर्ने भन्ने सम्बन्धमा बुझ्नका लागि नेपालमा कतारी अधिकारी आइसकेका छन् भने नेपालबाट पनि कतारमा गएर हात्तीलाई राख्ने दोहा चिडियाखाना अवलोकन भइसकेको छ ।’ राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरद अधिकारीले नेपाल सरकारले प्रदान गर्ने दुई हात्ती हस्तान्तरणमा कोषले प्राविधिक सहयोग गर्ने बताए ।
नेपालले विपिन जोशी रिहाइको विषय उठाउने नेपालले कतारी राजासमक्ष प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री दाहालले विपिनको रिहाइका लागि पहलकदमी लिइदिन कतारी राजासँग आग्रह गर्ने आश्वासन दिएका छन् । ‘विपिनको रिहाइका लागि आवश्यक पहल गरिदिन कतारी राजासमक्ष प्रमुख रूपमा कुरा राखिनेछ,’ आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने । विपिन सात महिनादेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा छन् ।
कञ्चनपुरका विपिनका आमाबुबाले पनि कतारका राजासमक्ष छोराको रिहाइको विषय उठाइदिन सरकारसँग आग्रह गरेका छन् । ‘इजरायल र हमासबीच मध्यस्थता गरिरहेको कतारका राजा नै नेपाल आउँदै हुनुहुन्छ । सरकारले विपिनको रिहाइको विषयलाई उहाँसमक्ष पहिलो प्राथमिकतामा राखेर कुरा गरोस्,’ विपिनका बुबा महानन्दले कान्तिपुरसँग भने । उनीहरूले कतार र हमासलाई पनि यथाशीघ्र विपिनको रिहाइ गर्न अपिल गरेका छन् । ‘कतार र हमासको सम्बन्ध राम्रो छ ।
नेपाल र कतारको सम्बन्ध पनि राम्रो छ । जसरी भए पनि कतारले फिर्ता पठाइदिनका लागि मध्यस्थता गरिदिन अनुरोध गर्दछु,’ उनले भने । त्यस्तै आमा पद्माले विपिन निर्दोष भएको भन्दै रिहाइ गर्न हमाससमक्ष अपिल गरेकी छन् । गत ७ अक्टोबर (असोज २०) मा विपिनसहित २ सय ५३ जनालाई हमासले बन्धक बनाएको हो । गाजापट्टीको सीमानजिकै रहेको इजरायलको किबुज अलुमिमबाट जोशीसहित थाई नागरिकलाई बन्धक बनाएर लगिएको थियो ।