दार्चुला– मालिकार्जुन गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी आयोजना गरिएको छ । मालिकार्जुन गाउँपालिका र प्रारम्भिक तह पढाइ कार्यक्रम (ईजीआरपी) को संयुक्त साझेदारीमा शुक्रवार गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, प्रधानाध्यापक, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा अधिकृत लगायतको उपस्थितिमा १ दिने कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
सरोकारवाला उपस्थित कार्यशाला गोष्ठीमा सामुदायिक विद्यालयहरुको गत वर्षको नतिजाको समीक्षा गर्दै नयाँ शैक्षिक सत्रमा सुधारका पाटा र आगामी रणनीतिक योजना बारे बृहत रुपमा छलफल गरिएको ईजीआरपी कार्यक्रमका कार्यक्रम अधिकृत पदम सिंह धामीले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरु सँग १ दिने कार्यशाला गोष्ठी कार्यक्रमको सहजीकरण मालिकार्जुन गाउँपालिका शिक्षा शाखा, ग्रामिण विकास समाज नेपाल (सीआरडीएस) र विश्व शिक्षा नेपाल तथा विश्व खाद्यले गरेको थियो । मालिकार्जुन गाउँपालिकामा ३७ सामुदायिक विद्यालय रहेका छन् ।
यसैबीच प्रारम्भिक तह पढाई कार्यक्रमले एक जना शिक्षकलाई सम्मान गरेको छ । दीपज्योती आधारभूत विद्यालय रन्चनीका शिक्षक सुना चैसिरलाई सम्मान गरिएको हो । शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरेको, शैक्षिक सामाग्रीको उच्चतम व्यवस्थापन र प्रयोग गर्दै शिक्षण सिकाई क्रियाकलाप गरी बालबालिकाको सिकाई उपलब्धि वृद्धि गर्न योगदान पुर्याएको भन्दै चैसिरलाई सम्मानित गरिएको ईजीआरपीले जनाएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम भइरहेको ईजीआरपी कार्यक्रमले जनाएको छ । सोही अनुसार आइतवार जिल्लाको लेकम गाउँपालिकामा कार्यक्रम गरिने ईजीआरपी कार्यक्रमका कार्यक्रम अधिकृत धामीले बताए । दार्चुला जिल्लाका समग्र ३ सय ३४ वटा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका लागि कार्यक्रम गरिनेछ ।