गृहमन्त्रीलाई बोल्न दिने विपक्षी मोर्चाको निर्णय

काठमाडौं– विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ । अहिले बसेको बैठकले सो निर्णय लिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

कांग्रेसले रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आए पनि कांग्रेस तयार थिएन । तर, आज विपक्षी दलहरूको दोस्रो बैठक राखेको कांग्रेस यसमा लचिलो भएको हो ।

शाहीका अनुसार रविले दिने जवाफमा प्रतिपक्षी दलहरू सहमत भएको खण्डमा संसदीय समितिको माग समेत फिर्ता लिने र संसद चल्न दिने समझदारी भएको छ । अन्यथा संसदीय समितिले पूर्णता नपाउन्जेल संसद चल्न नदिने बैठकले निर्णय लिएको शाहीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते संसदमा विश्वासको मत माग्दैछन् । यदि प्रतिपक्षले संसद अवरोध जारी राखे विश्वासको मत लिने प्रक्रिया पनि अवरुद्ध हुन सक्छ ।

हिजो दलहरुबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति भइसकेको छ । संसदीय समितिको टीओआर बनाउन एउटा कार्यदल बनाइएको छ, जसको बैठक अहिले बसिरहेको छ ।

सदन अवरोध नै रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत समेत प्रभावित हुन सक्ने देखिएको छ। सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.