दार्चुला– जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगड देखी सुरु भई नौगाड गाउँपालिकाका विभिन्न बस्ती तथा शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर संग छोटो दुरीका रुपमा जोडिएको प्रदेश गौरवको आयोजना अन्र्तगत पर्ने खलंगा–दल्लेक सडकखण्डलाई कालोपत्रे गर्ने कार्य विगत दुईवर्ष देखी अलपत्र परेको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा उक्त सडकखण्डको ८ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न टेण्डर गरेको थियो ।
उति बेलै बैतडीको ग्वाल्लेक निर्माण कम्पनी संग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेको भन्दै दार्चुलाका स्थानीयले प्रमुख जिल्ला अधिकारी मार्फत भौतिक पूर्वाधार मन्त्रालयलाई आज ज्ञापनपत्र बुझाएका छन् ।
नौगाड गाउँपालिका, महाकाली नगरपालिका र लेकम गाउँपालिकाका स्थानीयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई उक्त ज्ञापनपत्र बुझाउदै सरोकारवाला तथा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले सोही ज्ञापनपत्रको बोधार्थ दार्चुलाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु मानबहादुर धामी, बिक्रम सिंह धामी र लक्ष्मी बिकलाई समेत पठाएका छन् । सडक कालोपत्रे गर्न ठेक्का भएको दुई वर्ष सम्म पनि कुनै किसिमको कार्य नभएको भन्दै स्थानीयले तत्काल सडक कालोपत्रे गर्ने कार्य अघि बढाउन ज्ञापनपत्र बुझाएका हुन्
। सडक कालोपत्रे गर्ने काम नहुँदा लाभग्राहीले दैनिक रुपमा विभिन्न किसिमका समस्याहरु भोगिरहेको भन्दै तत्काल सडक निर्माणको काम अघि नबढाए संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी समेत दिएका छन् ।
संघर्षका कार्यक्रम पस्चात सिर्जित समस्याहरुको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने पनि उनीहरुले बताएका छन् । पटक–पटक आयोजना संग सरोकार राख्ने निकायहरु संग सोधपुछ तथा सडक निर्माणको काम गर्न आग्रह गर्दा पनि कुनै किसिमको सुनुवाई नभएको भन्दै स्थानीयहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन ज्ञापनपत्र बुझाएका हुन् ।