काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश पोखेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ओलीलाई गिरीबन्धु प्रकरणमा र सहकारी प्रकरणको बिषय उठाएर गृहमन्त्रीमाथि आक्रोश पोखेका हुन् ।
गिरीबन्धु प्रकरणमा ओलीले कांग्रेसमाथि फायर खोलेपछि कांग्रसले प्रतिवाद गरेको बताए । उनले भने, ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जग्गा बेचेर कसिसन खायो, के यो आरोप सही थियो ? उहाँले आरोप लगाएपछि मौन बस्न सकिएन, प्रतिवाद गरियो ।’
एमालेले कांग्रेसले लिखितरुपमा माफी माग्नुपर्छ भनेपछि कसैले आफूमाथि झुटो आरोप लगाउँछ भने मौन बस्न नसकेको जिकिर गरे । एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले ओलीमाथि लगाएको आरोपमा जवाफ दिनुपर्ने बताए । गिरीबन्धु प्रकरणमा जग्गा सट्टापट्टा वा स्थानान्तरणको स्वीकृति दिने कानून बनाउँदा कांग्रेसले संशोधन प्रस्ताव हालेको जिकिर गरे ।
केही समयअघि सदनमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले अहिले विरोध गर्नेले त्यसबेलामा संशोधन प्रस्ताव किन नहालेको रु भन्दै कांग्रेसमाथि प्रश्न गरेपछि त्यसको जवाफमा भने, ‘जग्गा सट्टापट्टा वा स्थानान्तरणको स्वीकृति दिन सकिने व्यवस्थासहितको विधेयकको प्रतिवेदन राष्ट्रियसभामा पेस भएपछि राधेश्याम अधिकारीले संशोधन हाल्नुभयो । तर विधेयक बहुमतले पारित गरेपनि कांग्रेसले विरोध गर्यो । त्यो मिति २०७६ साल भदौ ३०/ ३१ गतेको अभिलेख गर्न सकिन्छ ।’
प्रतिनिधि सभामा पनि तत्कालीन सांसदहरू डिला संग्रौला, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी र देवप्रसाद तिमिल्सनाले संशोधन प्रस्ताव राखेको भन्दै एमालेलाई जवाफ दिए ।
उनले सहकारी प्रकरणको बिषयमा गृहमन्त्रीमाथि जोड्दै ओलीले कांग्रेसले बेचेर कमिसन खाएको भन्देको गिरीबन्धुको फाइल खोल्न चुनौती दिए ।
उनले थपे, ‘त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाईं गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ रु म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्नु हुन्न ।’
उनले गिरीबन्धु जग्गा प्रकररणमा जोडेर ओली र सहकारी प्रकरणमा गृहमन्त्रीलाई जोडेर आक्रोश मात्रै पोखेनन् सभामुख देवराज घिमिरेमाथि पनि प्रश्न उठाए । प्रधानमन्त्रीले विश्वासको मत लिनेबेलामा संसदलाई रणभूमि बनाएर चलाएको भन्दै प्रश्न उठाए ।
उनले भने, ‘देशले सुन्ने गरी सभामुखले भन्नुपर्दथ्यो, प्रतिपक्षी आफ्नो ठाउँमा उभिएका बेलामा संसदलाई रणभूमि बनाएर म तपाईंका पक्षमा रहेका सांसदहरूको शिर गणना गर्न सक्दिनँ भनेर । तपाईं पहिला वातावरण बनाउनुस् भन्नुपर्थ्यो ।’ महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री भइसकेका व्यक्तिले अरुमाथि टिप्पणी गर्दा ख्याल गर्नुपर्ने टिप्पणी गरे ।
ओलीले केही समयअघि शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको अभिव्यक्ति दिएका थिए । उनले त्यस विषयमा गृहमन्त्रीले ओलीमाथि प्रश्न गर्न नसकेको भन्दै आलोचना गरे ।
ओली, गृहमन्त्री र सभामुखलाई समेत प्रश्न गर्न भ्याएका महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भने समर्थनमा उभिएका छन् । न्यूरोडको सडकको विषयमा बालेनसँग एमालेको टकराव बढेपछि उनले समर्थन जनाए ।
उनले भने, ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’
संघ र स्थानीय तहको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने तर्क गरे । उनले अगाडि भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस् । जेल बसेका नेताहरूलाई सम्मान राखेर बोल्नुस्, तपाईंको शैली बदल्नुस् । तर आफै सुरिनुभयो बोल्न ।’