काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् । शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिएका हुन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए । प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।