काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्थित्व समाप्त हुने देखेपछि आफूले तत्कालीन अवस्थामा संसद् विघटन गरेको बताएका छन् ।
एमाले काठमाडौं जिल्लाको सातौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको जिकिर गरे । संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्थित्वमा रहेको उनको भनाइ थियो ।
आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाइएको उनको जिकिर छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरिए पनि कार्यकर्तापंक्तिले पार्टीलाई बचाएको उनले बताए ।
अध्यक्ष ओलीले एमालेबाहेक अरू कसैसँग देश विकासको स्पष्ट ‘भिजन’ र नीति नरहेकाले ‘मिसन–८४’ नेपालको राजनीतिमा ‘टर्निङ प्वाइन्ट’ हुने उल्लेख गरे ।
आउँदो निर्वाचनबाट ‘काठमाडौं जिल्ला एमालेको किल्ला’ हुने उनले बताए । उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए । तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौंका विभिन्न पालिकाबाट गरी ५८५ प्रतिनिधि सहभागी भएका छन् ।