काठमाडौं– सोलुखुम्बुको पासाङ ल्याह्मु गाउँपालिकामा आएको बाढीका कारण १२ वटा घर पूर्ण रूपमा बगेका छन् । बाढीका कारण एक जना बेपत्ता भएको आशङ्का गरिएको छ ।
बाढीका कारण एउटा विद्यालय र एउटा स्वास्थ्य क्लिनिक पूर्ण रुपमा बाढीले बगाएको छ । बगाएका १२ घरमा केही होटलसमेत रहेको प्रदेश प्रहरी कोशीका प्रवक्ता एसएसपी भीम दाहालले बताए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको र खोज तथा उद्धारमा लागेको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले थामेमा ७ वटा घर उच्च जोखिममा रहेको बताइन् । उनले मानवीय क्षतिको बारेमा जानकारी नआएको जानकारी दिइन् । अहिले स्थानीय थामे खोलामा आएको बाढी घटेको छ । दिउँसोका भन्दा लेदो बाढी घटेको सीडीओ पाण्डेले बताइन् ।
थामे खोलामा बाढी घटे पनि भोटेकोशीमा आएको बाढीका कारण सुनकोशीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेका कारण तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना दिइसकिएको प्रहरीले जनाएको छ ।