‘जनयुद्ध’को अवमूल्यन गर्ने नेताहरूको भण्डाफोर गर्न प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् ।

सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आह्वान गरेका हुन ।

सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधान विपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’

प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’

जनयुद्धका महान् सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । पटक पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकोले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उनले भने, ‘यो हामी सबैका लागि खुशी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’

त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।

जनयुद्धका महान् सहिदहरूलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उनले नेता कार्यकर्ताहरूलाई यसमा ध्यान दिन आग्रह गरे । आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उनले संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताए । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादती र अपमानविरुद्ध संघर्ष गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उनले स्पष्ट पारे । अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठकबाट सहिदको स्मृति दिवसबारे एकरूपता कायम गर्ने गरी नीतिगतरुपमा व्यवस्था गरिने जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.