दार्चुला । आइतबार राति दार्चुलामा परेको अविरल वर्षाको कारण जिल्लाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा ठुलो क्षति भएको छ । वर्षापछि आएको बाढीपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ, भने २ जना अझै बेपत्ता रहेका छन्।
दुई जना घाइतेको हेलिकोप्टरबाट उद्दार गरि धनगढी लगीएको छ। बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा दर्जनौँ घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। दार्चुलाको तिंकर सडक छिन्नभिन्न भएर दुहुँ तथा व्याँस गाउँपालिकामा आवतजावतको मार्ग अवरुद्ध भएको छ।
तर बाढीपहिरोपछि भएको धनजनको क्षतिको विवरण संकलन गर्न कोही नआएको गुनासो पिडितहरुले गरेका छन । जिल्ला सदरमुकामबाट बाढी पहिरोग्रस्त ठाउँ नजिकै भएपनि क्षतिको निरीक्षण गर्न कोही नआएको पिडित स्थानीयहरुले गुनासो गरेका छन ।
सदरमुकामबाट नजिकै रहेको दुहुँ गाउँपालिकामा धनजनको क्षति हुँदा पनि कसैले वास्ता नगरेको स्थानीय पूर्णबहादुर बमले गुनासो गर्नुभयो । ‘आइतबार राति बाढीपहिरो आएको हो, तर हाम्रो ठाउँमा अहिलेसम्म कोही पनि आएका छैनन्। निजाङ खोलाको पुल बगाएको छ’ उहाँले भन्नुभयो, ‘पारीबाट मान्छे आएर फोटो खिचेर जान्छन्। एक जना पुलिस पनि आएको छैन।’
तर अधिकारीहरुले भने बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार तथा क्षतिको विवरण लिने काम भइरहेको दाबी गरेका छन्। बाढीपहिरोपछि स्थानीय प्रशासनलाई प्रदेश सरकार तथा संघीय सरकारबाट आवश्यक सहयोग जुटाउने काम आफूले गरिरहेको दार्चुलाबाट प्रदेश सभा सदस्य रहनुभएका नन्दा बमले बताउनुभयो।
दुहुँ गाउँपालिका वडा नम्बर ३ मा पर्ने निजाङ खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुंगे पुल पनि बगाएको छ। सो क्षेत्रमा रहेका आधा दर्जन घर तथा पसलहरु बगाएको छ। पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्धविच्छेद भएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निजाङ खोलामा काठे पुल निर्माण गरेर आवतजावत सहज गर्ने तयारी भइरहेको बताउनुभयो । बाटो खुलाउने काम सम्पन्न भएपछि मात्रै क्षतिको विवरण लिने स्थानीय प्रशासनले जनाएको छ।