काठमाडौं- भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डासँग भेटवार्ता गरेका हुन् ।नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको भेटमा नड्डाले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र, तनहुँलाई ३०० शय्या बनाउने प्रतिबद्धता जनाएका छन् ।साथै ट्रमा सेन्टरको स्तरोन्नति, डायलाासिस सेवा थप्नका लागि आवश्यक सहयोग गर्न पनि नड्डा सकारात्मक छन् ।मन्त्री पौडेलले भारतीय समकक्षी नड्डालाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ’, भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’
अब केही समयमा यसबारे दिपक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले जानकारी दिए ।