दार्चुला – मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल यही माघ २८ र २९ गते दार्चुलाका विभिन्न स्थानमा पुग्ने कार्यक्रम रहेको छ। अभियान अन्तर्गत डा. रावलले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रवाद, विकास, तथा सामाजिक न्यायका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रमअनुसार डा. रावल माघ २८ गते दिउँसो २ बजे मालिकार्जुन गाउँपालिका–३ मड पुग्नेछन्।
त्यहाँ आयोजित कार्यक्रममा स्थानीयवासी, बुद्धिजीवी, युवासँग छलफल गर्दै देशको वर्तमान अवस्थाबारे आफ्ना विचार राख्नेछन्। त्यसपछि दिउँसो ४ बजे शंकरपुरमा पनि भेटघाट तथा स्थानीयहरुसँग मातृभूमि जागरण अभियानको उद्देश्य र भावी रणनीतिबारे छलफल गरिने डा. भीम रावलको सचिवालयले जनाएको छ । ।
सोही दिन राति महाकाली नगरपालिका खलंगामा पुगेर उनले विभिन्न संघसंस्था, राजनीतिक कार्यकर्ता तथा स्थानिय नागरिकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, माघ २९ गते गोकुलेश्वर, दार्चुलामा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ।
सो अवसरमा डा. रावलले राष्ट्रहितका विषयमा आफ्नो धारणा राख्दै नागरिकहरूसँग संवाद गर्नुहुनेछ। स्थानीयवासीले आफ्ना समस्याहरू राख्न पाउने तथा मुलुकको समग्र राजनीतिक अवस्था र भावी बाटोबारे प्रत्यक्ष छलफल गर्ने डा. रावलको सचिवालयले जनाएको छ ।
जागरण अभियानले विभिन्न स्थानमा पुगेर नागरिक जागरण तथा राष्ट्रिय हितका विषयमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अभियान अन्तर्गत देशका विभिन्न भागमा गरिने छलफल तथा अन्तरक्रियाले राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।