दार्चुला– दार्चुलामा प्रहरीले खरको थुप्रोमा आगो लगाउने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहुँ गाउँपालिका वडा–३ का ४१ वर्षीय इन्द्रसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार बोहराले चन्द्रसिंह बोहरा, गोपाल बोहरा र पदमसिंह बोहराको सात वटा खरको थुप्रोमा आगो लगाएको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेका बोहरालाई आगजनीको आरोपमा पक्राउ गरी ‘अपराधिक उपद्रव गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । हिजो सोमबार उनलाई जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले कार्यालय दार्चुलाले जनाएको छ । आगलागीका कारण खर राखिएको काठ, नजिक रहेका बोटबिरुवा र तरकारी बालीमा समेत क्षति पुगेको छ ।
आगलागीबाट अन्दाजी ३ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । नेपालको कानुनमा जङ्गलमा आगजनी गर्ने गराउने कार्य गम्भीर आपराधिक कार्य मानी यस्तो कसूर गर्नेलाई वन ऐन, अनुसार क्षतिको बिगो असुल उपर गरि ६० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदसम्मको व्यवस्था रहेको छ ।