बझाङको थलारा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं–  बझाङको थलारा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचनको कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख विष्णुभक्त उपाध्यायले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । थलारा क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियु निर्वाचनको तयारी पूरा हुन नसकेको उपाध्यायको भनाइ छ ।

क्याम्पस व्यवस्थापन समितिको फागुन १८ गते बसेको बैठकले स्ववियु निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नहुँदासम्म निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने निर्णय गरेको छ ।

सोही निर्णयको आधारमा स्ववियु निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित गरिएको उपाध्यायले बताए । बझाङमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ८ वटा क्याम्पस रहेका छन् । जसमा शान्ति आदर्श क्याम्पस र सेती क्याम्पसमा निर्विरोध स्ववियु नेतृत्व चयन भएको छ ।

थलारा र खापरदेव क्याम्पसमा विद्यार्थी भर्ना कम भएको भन्दै निर्वाचन स्थगित गरिएको छ । त्रिवेणी क्याम्पस, सुनकुडा क्याम्पस र झोता क्याम्पसमा भने मनोनयन दर्ता गरेर निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।

Leave A Reply

Your email address will not be published.