दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा दार्चुला बहुमुखी क्याम्पस बाट ४८५ जना विद्यार्थीले मतदान गर्ने भएका छन । पर्सि बुधबार अर्थात चैत्र २७ गते हुने स्ववियु निर्वाचनमा ४८५ जना विद्यार्थीले मतदान गर्ने निर्वाचन अधिकृत करन सिंह साउँदले जानकारी दिनु भयो । निर्वाचन अधिकृत साउदका अनुसार शिक्षाशास्त्रतर्फ सबैभन्दा बढि २८९,जना विद्यार्थीले मतदान गर्ने बताएका छन ।
यस्तै सबैभन्दा कम मानविकी तथा समाज विकासतर्फ १० जना मतदाताले मतदान गर्ने बताइएको छ । आसन्न चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसमा निर्वाचनको तयारी पुरा भएको छ । दार्चुला बहुमुखी क्याम्पसमा स्नातक तहमा व्यवस्थापनतर्फ ११३, जना मानविकी तथा समाज बिकासतर्फ ५८जना मतदाता रहेका छन् ।
यस्तै स्नातकोत्तर तह शिक्षाशास्त्रतर्फ १५ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानको समय विहान ८बजे देखि बेलुकी ४ बजेसम्म राखिएको छ । निर्वाचनमा प्रत्यक्ष तर्फको मतपत्रको रङ्ग हल्का निलो र समानुपातिक तर्फको मतपत्रको रङ्ग हल्का पहेलो राखिएको निर्वाचन अधिकृत साउँदले जानकारी दिनु भयो ।
सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनमा दार्चुला बहुमुखी क्याम्पस बाट नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दर्ता गराएको छ । स्ववियु अध्यक्षमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यसअघि चैत ५ गते सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दार्चुलामा तीन विद्यार्थी संघ संगठनहरुले आपसी समझदारी गरी भागबन्डा गरेका थिए ।