‘शिक्षा’ भन्ने बित्तिकै हामी प्रायः स्कूल, क्याम्पस वा घरमा हुने पढाइ, सिकाइ र अध्ययन प्रक्रिया सम्झन्छौं। तर शिक्षा केवल औपचारिक सिकाइ मात्र होइन; यो जीवनभरि सिकिरहने ज्ञान, अनुभव, विचार, अनुशासन र व्यवहारको समग्र हो। यसले मानिसलाई आफ्नो जीवनको मार्ग पहिचान गर्न, सही र गलत छुट्याउन, विवेकपूर्ण निर्णय लिन र समाजमा जिम्मेवारीपूर्वक जीवनयापन गर्न सहयोग पुर्याउँछ। शिक्षा मानव जीवनको तेस्रो आँखाको रूपमा काम गर्छ, जसले मानिसको सोच, दृष्टिकोण र व्यवहारमा उज्यालो ल्याउँछ। शिक्षा बिना मानिस ज्ञानको दृष्टिले अन्धो हुन्छ, र समाज भनेको अँध्यारोको सागरमा हराउने खतरा हुन्छ। बालबालिकाले प्रारम्भिक जीवनमा परिवार, शिक्षक र समाजबाट सिक्ने सबै कुरा उनको आधारभूत शिक्षा बन्न पुग्छ। बच्चाले आमा-बुबाद्वारा सिकेको व्यवहार, सामाजिक र सांस्कृतिक मापदण्डहरू, राम्रो र नराम्रोको भिन्नता, आदर्श र मूल्यबारे जानकारी पाउँछ। यसै क्रममा उसले आफ्नो जीवनका पहिलो पाठ सिक्छ, जुन उसको सम्पूर्ण व्यक्तित्व निर्माणमा योगदान पुर्याउँछ।
मानिसले औपचारिक शिक्षा स्कुल, क्याम्पस, कलेज वा विश्वविद्यालयबाट प्राप्त गर्छ, तर जीवनमा शिक्षा यसका बाहेक पनि पाइन्छ। प्रकृति, समाज र अनुभव नै हाम्रो सबभन्दा ठूलो शिक्षक हुन्। नदीको बहाव, पहाडको उचाइ, वृक्ष र वनस्पतिको जीवन चक्र, चराचुरुङ्गी र अन्य जीवहरूको अस्तित्व—यी सबैले मानिसलाई जीवनका मूल्य र सर्तहरूको गहिरो शिक्षा दिन्छन्। त्यसैले शिक्षा केवल किताबी ज्ञान होइन; यो व्यवहारिक बुद्धि, जीवन मूल्य, नैतिकता र सामाजिक चेतनाको समग्र हो।
विद्या मानव जीवनको अमूल्य गहना हो। यसले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि सशक्त बनाउँछ। शिक्षाले मानिसको आत्मविश्वास जगाउँछ, उसको सोचलाई उज्यालो बनाउँछ, र उसको व्यक्तित्वलाई परिपक्व बनाउँछ। विद्या बिना जीवन अधुरो हुन्छ, जस्तो कि बत्ती बिना कोठा अँध्यारो हुन्छ। अशिक्षित व्यक्ति आफ्नो अधिकार, जिम्मेवारी र अवसरहरूबारे पूर्ण जानकारी राख्न सक्दैन। उसको जीवन सीमित दायरामा रहन्छ, र ऊ समाजमा पछाडि पर्छ। तर जब त्यसै व्यक्तिमा विद्याको उज्यालो प्रवेश गर्छ, उसको सोच, दृष्टिकोण, र जीवनशैलीमा व्यापक परिवर्तन आउँछ। विश्व इतिहासमा यस्ता अनेक उदाहरणहरू छन्, जहाँ शिक्षाले व्यक्तिको जीवन मात्र होइन, समग्र समाज र राष्ट्रलाई नै परिवर्तन गरेको छ। डा. भीमराव अम्बेडकरको जीवन यसको ज्वलन्त उदाहरण हो। गरिब र दलित समुदायमा जन्मिएका अम्बेडकरले शिक्षाको बलमा आफ्नो जीवन रूपान्तरण गरे र भारतीय संविधानको निर्माणमा महत्त्वपूर्ण योगदान दिए। उनले आफ्नो जीवन मात्र सुधार गरेनन्, बरु करोडौँ उत्पीडित वर्गलाई समानता र स्वतन्त्रताको बाटो देखाए। नेपालमा पनि पण्डित नारायण पोखरेलजस्ता विद्वानहरूले शिक्षा मार्फत समाजमा जागरण ल्याएका छन्।
शिक्षा केवल व्यक्तिको विकासको साधन होइन, समाजको प्रगति र विकासको आधार पनि हो। शिक्षित समाजमा अज्ञानता, अन्धविश्वास र सामाजिक कुरीतिहरू घट्छन्। शिक्षाले मानिसलाई तर्क, विवेक, र वैज्ञानिक सोचको मार्गमा डोर्याउँछ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। शिक्षा समानता र सामाजिक न्याय कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। जब हरेक व्यक्तिलाई शिक्षाको समान अवसर प्राप्त हुन्छ, जात, लिङ्ग, र आर्थिक अवस्थाको आधारमा हुने विभेद क्रमशः कम हुन्छ। नेपालको सन्दर्भमा पछिल्ला दशकहरूमा बालिका शिक्षामा भएको प्रगतिले महिलाहरूको सामाजिक र आर्थिक सशक्तीकरणमा ठूलो योगदान पुर्याएको छ। शिक्षित महिलाहरूले आफ्नो परिवार, समुदाय र समाजलाई सही दिशा दिन सक्षम भएका छन्। शिक्षाले समाजमा शान्ति, स्थिरता र सहिष्णुताको भावना पनि बढाउँछ। शिक्षित व्यक्तिहरू समाजमा हुने द्वन्द्व र अस्थिरता कम गर्न र समस्याहरूको समाधान शान्तिपूर्ण तरिकाले खोज्न सक्षम हुन्छन्। यसको विपरीत, अशिक्षित समाजमा अज्ञानता, भ्रम र गलत धारणाले द्वन्द्व र अस्थिरता निम्त्याउँछ। उदाहरणका लागि, विगतमा नेपालका कतिपय ग्रामीण क्षेत्रहरूमा बोक्सीको आरोपमा महिलामाथि अत्याचार हुन्थ्यो। यो अशिक्षा र अज्ञानताको प्रत्यक्ष परिणाम थियो। तर शिक्षा र चेतनाको स्तर बढ्दै जाँदा यस्ता कुप्रथामा कमी आएको छ।
विद्या र शिक्षा मानव जीवन र समाजको उज्यालो हुन्। “विद्या बिना मान्छे अधुरो, शिक्षा बिना समाज अँध्यारो” भन्ने भनाइले मानव जीवन र समाजमा विद्याको अपरिहार्यता र शिक्षाको महत्त्वलाई स्पष्ट रूपमा व्यक्त गर्छ। शिक्षा समाजलाई अँध्यारोबाट मुक्त गर्दै उज्यालो र प्रगतिशील बनाउँछ। शिक्षित समाजमा व्यक्तिहरू जिम्मेवार, अनुशासित र सभ्य हुन्छन्। उनीहरू आफ्ना अधिकार र कर्तव्य बुझ्छन्, आफ्नो जीवन र समाजको हितमा निर्णय लिन सक्षम हुन्छन्। अशिक्षित व्यक्ति भने अवसर र जिम्मेवारीमा पछि पर्छ, जीवनको सीमित दायरामा बाँधिन्छ, र सामाजिक रूपमा अवमूल्यित हुन्छ। भौतिक दृष्टिले सम्पन्न भए पनि अशिक्षित व्यक्तिले भित्री मनको सुख प्राप्त गर्न सक्दैन।
नेपालजस्तो विकासोन्मुख देशमा शिक्षाको महत्त्व झनै बढी छ। ग्रामीण क्षेत्रहरूमा स्कूलहरूको कमी, शिक्षक अभाव, आर्थिक समस्या, र गुणस्तरीय शिक्षाको अभावले धेरै बालबालिकालाई शिक्षाबाट वञ्चित बनाएको छ। सरकारले “सबैका लागि शिक्षा” जस्ता नीति ल्याएको भए पनि प्रभावकारी कार्यान्वयनमा अझै चुनौती छ। शिक्षाको गुणस्तर सुधार, प्राविधिक र व्यावहारिक शिक्षामा जोड, बालिका र ग्रामीण क्षेत्रमा पहुँच विस्तार—यी सबै कदमले मात्रै नेपालको शिक्षा प्रणाली सशक्त बन्न सक्छ। शिक्षालाई केवल औपचारिकताको रूपमा नभई जीवनको आधारभूत आवश्यकता र राष्ट्रको उज्यालोको रूपमा लिनुपर्छ।
अन्ततः, विद्या र शिक्षा मानव जीवनको अमूल्य सम्पत्ति हुन्। यसले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ, समाजलाई सशक्त बनाउँछ, र राष्ट्रलाई समृद्ध बनाउँछ। शिक्षा बिना व्यक्ति अधुरो हुन्छ, र समाज अँध्यारोमा हराउँछ। यसैले हामीले शिक्षालाई आत्मसात गर्नु मात्र व्यक्तिगत उन्नति होइन, समग्र समाजको प्रगति र राष्ट्रको उज्यालो सुनिश्चित गर्ने उपाय हो। शिक्षा र विद्या मानव जीवनको गहना, समाजको उज्यालो र राष्ट्रको शक्ति हुन्, र यिनै आधारमा हाम्रो भविष्य उज्यालो बन्न सक्छ।
लेखक : रोशन सिंह धामी (दार्चुला बहुमुखी क्याम्पस खलङ्गा दार्चुला ।)