सत्मार्ग
सत्मार्ग त्यही उज्यालो बाटो,
जहाँ आत्मा शुद्ध हुन थाल्छ।
लोभ र मोहका जञ्जाल टुट्छन्,
मनमा करुणाको ज्योति पाल्छ।
सत्मार्गमा पाइलो टेकेरै,
मानव मानवलाई चिन्दछ।
धनी–गरिब, जात–भाषा छैन,
हृदयले मात्र प्रेम दिन्छ।
सत्मार्गमा भोग विलास होइन,
त्याग र सेवा फूलझैँ फुल्छ।
स्वार्थको तृष्णा पिघल्दै जान्छ,
सद्गुणको सुवासै मात्र चल्छ।
सत्मार्गमा आँसु धुन सिकिन्छ,
परपीडामा आफैँ पोलिन्छ।
परहितलाई धर्म ठानिन्छ,
आफ्ना सपनासँगै जोडिन्छ।
सत्मार्गमा धैर्य हुन्छ आधार,
श्रम र इमानदारी नै धन।
कर्ममा भर, विश्वासमा यात्रा,
त्यो यात्रामा नै जीवन।
सत्मार्गमा मृत्यु पनि मधुर,
कर्मले जीवन उज्यालिन्छ।
नाम अमर, आत्मा निडर,
सद्गुणले संसार सजिन्छ।
सत्मार्गमा हिँड्ने मान्छे साँचो,
उसको पदचिन्ह अमर हुन्छ।
समाजलाई उज्यालो दिँदै,
इतिहासमा दीपझैँ जल्छ।
लेखक:- कलावती धामी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।