अपीहिमाल क्षेत्रको गुमनाम ‘भभया चुचुरो’मा पुग्ने पहिलो आरोही टोलीलाई पालिकाको सम्मान

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकामा पर्ने गुमनाम ‘भभया चुचुरो’मा पुग्ने पहिलो आरोही टोलीलाई पालिकाले सम्मान गरेको छ । झण्डै ६ हजार ३९७ मिटर उचाइमा रहेको भभया चुचुरोमा पुग्ने पहिलो आरोही टोलीलाई पालिकाले सम्मान गरेको हो ।

अपीहिमाल गाउँपालिकाको समन्वय तथा सहकार्यमा नेपाल पर्यटन बोर्ड एसटिपी प्रोजेक्टको सहयोगमा नेपाल पर्वतारोहण संघको आयोजनामा सञ्चालित प्रोफेसनल माउन्टेन गाईड तालिम अन्तरगत ल्याह्युल पिक अर्थात भभया हिमालको पहिलोपटक सफल आरोह गर्ने टोलीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए ।

पहिलो पटक सुदूरपश्चिम प्रदेशको अपीहिमालमा रहेको ल्याह्युल पिक अर्थात भभया हिमालको सफल आरोहण गर्ने सात जना आरोहीहरुलाई आइतबार सम्मान गरिएको उहाँले बताए ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार, आरोहण दलमा प्रशिक्षकहरू लालबहादुर जिरेल, रामकाजी तिवारी र राकेशराज तामाङ तथा प्रशिक्षार्थीहरू सूर्यमान तामाङ, सुरज तामाङ, भीषण योन्जन र डाली शेर्पा गरी सात जनाको टोली थियो ।

यहि असोज २ गते ल्याह्युल पिक अर्थात भभया हिमालको सफल आरोहण गरिएको हो । यसले सुदूरपश्चिम क्षेत्रको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको गाउँपालिकाले जनाएको छ ।

यो आरोहणले ६ दशकदेखि आरोहण हुन नसकेको सुदूरपश्चिमको सर्वोच्च शिखर अपि हिमाल आरोहणका लागि बलियो आधार तयार पारेको छ ।

अपिहिमाल गाउँपालिकाको निरन्तर प्रयास र नेपाल सरकारको ‘रोयल्टी फ्री’ नीतिको प्रतिफलस्वरूप यो ऐतिहासिक उपलब्धि हासिल गरिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताए ।

यस्तै गाउँपालिकाले २०८० साललाई ‘पर्यटन भ्रमण वर्ष’ घोषणा गर्दै पर्यटकहरूलाई आकर्षित गर्न पूर्वाधार निर्माणमा जोड दिएको थियो । अपिहिमाल-१ मा रहेको अपिहिमालको दायाँपट्टि भभया हिमाल रहेको छ। अपी हिमालमा पर्यटन र हिमाल आरोहीलाई आकर्षण गर्न पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिकाले बताएको छ। पदमार्ग निर्माण, पर्यटन आवास गृह र अन्य पूर्वाधार निर्माणमा विभिन्न निकायको सहयोगमा काम भइरहेको दाबी गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!