दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं १ बलाचमा करेन्ट लागेर एक महिला घाइते भएकी छन् ।
बलाच–गोकुलेश्वर मेन लाइनको पोलको स्टे पोलमा छोएपछि ५४ वर्षीया पार्वती जोशी घाइते भएको पारिवारिक स्रोतले जनाएको छ । घास काट्ने क्रममा पोल अड्याउन राखेको स्टेलाई छुदा जोशीलाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर जोशीका दुबै हात र खुट्टामा गम्भिर चोट लागेको छ ।
अहिले उनको धनगडीस्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको र अवस्था खतरा मुक्त रहेको बताइएको छ । घाइते जोशीको गोकुलेश्वर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धनगडी पठाइएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । त्यस्तै घाइते जोशीको उपचार तथा क्षतीपुर्तीको लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी अनिल पौडललाई ज्ञापन पत्र बुझाईएको छ ।
सोमबार शैल्यशिखर नगरपालिका वडा नं १ का वडा अध्यक्ष भरत बहादुर खडायत, राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष मुकेश पाल लगायतको टोली प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाउनुभएको हो ।
विद्युत प्राधिकरणको लापरवाहीले सो घट्ना भएकोले घाइते जोशीको उपचार तथा क्षतीपुर्तीको व्यवस्था प्रधिकरणले छिटोभन्दा छिटो गर्नुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारी पौडेललाई पहल गरिदिन ज्ञापन पत्र बुझाएको राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका जिल्ला मुकेश पालले जानकारी दिए ।