दार्चुला । निर्वाचन आयोगले निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउने भनी रकमको सीमा तोकिदिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले विभिन्न स्थानका निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धा गर्न लागेका प्रत्यक्षतर्फका उम्मेदवारहरूका लागि अधिकतम चुनावी खर्चसीमा तोकिदिएको हो ।
जसअनुसार प्रतिनिधिसभा तर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि दार्चुलामा नेपाली कांग्रेसबाट दिलेन्द्र प्रसाद बडू,नेकपा एमालेबाट गणेश सिह ठगुन्ना,नेपाली कम्युनिस्ट पार्टीबाट लक्ष्मणदत्त जोशी र ललितसिह ठगुन्नाको नाम सिफारिस भएको छ ।
यस्तै त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट जिल्ला इन्चार्ज नव राज भट्ट,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट पार्टी सभापति राजेश सिह सामन्त र राप्रपा दार्चुलाबाट दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरिएको छ ।
साथै उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने र त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार प्रतिनिधिको तर्फबाट निकासीको नाम सहित विवरण निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।
उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।