हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट : सल्यानका दुई परिवारका ९ जनाको ज्यान

 हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको ज्यान गएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा निवासी उनीहरू सो दर्दनाक घटनामा परेका हुन्।
हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा सोमबार राति सुतिरहेको समयमा पसलमा अचानक आगलागी भएको र त्यसपछि ग्यास सिलिन्डर विस्फोट हुँदा ठूलो क्षति भएको जनाइएको छ। विस्फोट यति भीषण थियो कि मृतकहरूको शव अत्यन्त क्षतविक्षत भएकाले पहिचान गर्न समेत कठिन भएको आफन्तले बताएका छन्।
मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, ४७ वर्षीय काशिराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन्।
धनबहादुर विक र काशिराम विकका परिवार पसलमाथिको कोठामा बस्दै आएका थिए। दिनभर काम गरेर फर्किएपछि सुतिरहेका बेला आगलागी भएको बताइएको छ। आगलागीको जानकारी पाएपछि नजिकैको अर्को घरमा सुतिरहेका चार जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
घटनापछि भारतीय सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर शव संकलनको कार्य गरिरहेको छ। विस्फोटबाट भएको क्षति अत्यधिक भएकाले शव संकलन र पहिचानमा कठिनाइ भइरहेको जनाइएको छ।
स्थानीयका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण अढाई वर्षअघि टाकुरा बस्तीका केही परिवार भारत गई मजदुरी गर्दै आएका थिए। दुई परिवारका ९ जनाको असामयिक निधनपछि सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ। गाउँपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।
मृतकहरूको शव भारतमै दाहसंस्कार गर्ने वा नेपाल ल्याउने विषयमा भारतमा रहेका नेपाली समुदाय, स्थानीय प्रशासन तथा पीडित परिवारबीच छलफल भइरहेको वडाध्यक्षले जानकारी दिएका छन्। घटनाले सम्पूर्ण सल्यानवासीलाई स्तब्ध बनाएको छ।

Leave A Reply

Your email address will not be published.