दार्चुला । दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा -७ ‘धरमपानी’का ४० वर्षिय लक्ष्मण राम टमटा मृत्त फेला परेका हुन । माघ १ गते राती डिन्सी निवासी एक स्थानीयको घरगोठमा टमटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार दिउसो प्रहरीलाई घटना बारे जानकारी आए पनि घटना माघ १ गते राती नै भएको प्रहरीले जनाएको छ । प्रहरीले मृत फेला परेका घरधनीकी श्रीमती सहित ७ जना स्थानीयलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।
मृतक टमटाको शरीरिरमा घाउचोट देखिएपछि प्रहरीले हत्या आशंकामा १ जना महिला सहित ७ जना स्थानीयलाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले बताए । टमटा मृत फेला परेका घरधनी फरार रहेको र उनीकी श्रीमतीलाइ भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको विस्तृत अध्ययन नसकिएकाले नियन्त्रणमा रहेका र घरधनीको नाम प्रहरीले गोप्य राखेको छ । लक्ष्मण राम टमटाका आफन्तहरुले प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
‘फरार रहेका डिन्सीका घर धनीसंग मृतक टमटाको केही विषयमा विबाद भएपछि घटना भएको देखिन्छ, प्रहरी प्रमुख डिएसपी महतले भने, हामी अहिले सोधपुछ गरिरहेका छौ” मृतक टमटाको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । उनको घरमा एक छोरा र एक छोरी रहेका छन् ।
फरार रहेका घरधनीको खोजी कार्य जारी रहेको छ । उनी भारत गएको हुनसक्ने भन्दै प्रहरीले सिमाक्षेत्र सहित भारतीय प्रहरीलाई हुलिया मार्फत उनलाई पक्राउका लागि आग्रह गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नियन्त्रणमा रहेका सबैलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।