दार्चुला । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीलाई ज्ञापनपत्र बुझाउदै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल आयल निमगसंग मूल्य वृद्धि फिर्ता लिन माग गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष आनसिह बडालले जानकारी दिनुभयो ।
परमादेशबाट बनेको सरकारको निर्देशनमा पटक–पटक नेपाल आयल निगमले मूल्य वृद्धि गरी जनताका आधारभूत आवश्यकताको वेवास्ता गरेको अनेरास्ववियुको आरोप छ। अनेरास्ववियुले मूल्य वृद्धि खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। ज्ञापनपत्र बुझाउन अध्यक्ष बडालसंगै अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य खेमराज जोशी लगायत विद्यार्थी नेताहरु जिल्ला प्रशासन कार्यालय दार्चुला पुगेका थिए ।
सरकारको सिफारिसमा नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको थियो। मूल्य बृद्धिको नेकपा बिप्लप र विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले चर्को विरोध गरिरहेका छन् ।
