दार्चुला कांग्रेसले गर्‍यो जोशी सहित चार जना उम्मेदवार सिफारिस

दार्चुला । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा सदस्य पदका लागि धर्मानन्द जोशी सहित चार जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

जिल्ला कार्यसमितिको निर्णयअनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सिफारिस गरिएका उम्मेदवारहरूको नामावली नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा पठाइएको हो ।

सिफारिस हुने उम्मेदवारहरूमा गणेशराज भट्ट, धर्मानन्द जोशी, नरेन्द्र सिंह धामी र हरक सिंह विष्ट रहेका छन् । भट्ट नेपाल विद्यार्थी संघका पुर्व उपसभापति भइसकेका छन् । उनि यस अघि राष्ट्रिय सभा सदस्यकालागि समेत दार्चुलाबाट सिफारिस भएका थिए ।

जोशी पेशाले अधिवक्ता हुन् । लामो समय संयुक्त राष्ट्र संघमा मानव अधिकारका क्षेत्रमा काम गरेको अनुभव जोशी सँग छ । जोशी समाजसेवीका रुपमा समेत दार्चुलामा परिचित छन् ।

धामी मालिकार्जुन गाउँपालिकाका पुर्व अध्यक्ष हुन् । विष्ट भने दुइ कार्यकाल जिल्ला कार्यसमितिको सचिव भइसकेका छन् । उनी महासमिति सदस्य समेत हुन् । पार्टीको विधान र केन्द्रीय समितिको निर्देशनअनुसार प्रक्रिया पूरा गरी उम्मेदवारहरूको नाम सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ ।

यसअघि पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूको एकल नाम सिफारिस गरिएको थियो । उनले आगामी निर्वाचन नलड्ने घोषणा गरेसँगै दार्चुला काँग्रेसले पुन: ४ जनाको नाम सिफारिस गरेको हो ।

Leave A Reply

Your email address will not be published.