दार्चुला कांग्रेसमा युवा नेतृत्व, कोहुन उम्मेदवार ?

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर नेपाली कांग्रेस दार्चुला जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि दार्चुला कांग्रेसको केन्द्रीय अनुहारका रूपमा परिचित पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले निर्वाचन नलड्ने घोषणा गरेसँगै जिल्लाको कांग्रेस राजनीतिमा पुस्तान्तरणको बहस सतहमा आएको हो। बडूले चुनाव नलड्ने घोषणा गरेसंगै  कांग्रेसले नयाँ नेतृत्व र प्रभावशाली उम्मेदवारको खोजीलाई प्राथमिक एजेन्डा बनाएको छ।
यही सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा सदस्य पदका लागि चार जनाको नाम सिफारिस गरी केन्द्रीय कार्यालय सानेपा, ललितपुर पठाएको छ। सिफारिस सूचीमा गणेशराज भट्ट, धर्मानन्द जोशी, नरेन्द्र सिंह धामी र हरक सिंह विष्ट रहेका छन्। चारै जना आ–आफ्नो क्षेत्रमा चिनिएका, अनुभव र क्षमताका आधारमा सम्भावनाशील मानिएका व्यक्तित्व हुन्।
सिफारिसमा परेका उम्मेदवारहरूमध्ये गणेशराज भट्ट समाजसेवीका रूपमा परिचित छन् भने हरक सिंह विष्ट युवामाझ लोकप्रिय र ऊर्जाशील नेताका रूपमा हेरिन्छन्। धर्मानन्द जोशी कानुनका विद्यार्थी मात्र नभई संयुक्त राष्ट्रसंघसँग मानवअधिकारसम्बन्धी क्षेत्रमा काम गरिसकेका अनुभवी अधिवक्ता हुन्। यिनै चार उम्मेदवारमध्ये संगठन निर्माणको अनुभव, स्थानीय तहको नेतृत्व र निरन्तर सामाजिक सक्रियताका कारण नरेन्द्र सिंह धामीलाई विशेष सम्भावनाशील उम्मेदवारका रूपमा चर्चा गर्न थालिएको छ।
कांग्रेसभित्र मात्र होइन, दार्चुलाको समग्र राजनीतिक वृत्तमा पनि धामीको नाम बलियो दावेदारका रूपमा अघि आउन थालेको छ। कांग्रेस नेताहरूका अनुसार वर्तमान अवस्थामा पार्टी संगठनलाई मजबुत बनाउन सक्ने, जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने र विकासका मुद्दामा स्पष्ट दृष्टिकोण राख्ने उम्मेदवार आवश्यक छ, जुन गुण धामीमा देखिने उनीहरूको भनाइ छ।
नरेन्द्र सिंह धामीको जन्म २०३३ जेठ ३ गते आइतबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा भएको हो। उनका पिता कृष्ण सिंह धामी र आमा कौशिला देवी धामी हुन्। साधारण किसान परिवारमा जन्मिएका धामीले बाल्यकालदेखि नै समाज र समुदायसँग नजिक भएर हुर्किने अवसर पाए। यही सामाजिक परिवेशका कारण उनी सरल, पहुँचयोग्य र सहयोगी स्वभावका नेताका रूपमा चिनिन्छन्, जसले उनको राजनीतिक छविलाई सकारात्मक बनाएको छ।
शैक्षिक पृष्ठभूमिका हिसाबले पनि धामी सुदृढ मानिन्छन्। उनले २०५२ सालमा मालिकार्जुन माध्यमिक विद्यालय, मडबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि २०५४ सालमा श्री शंकरपुर माध्यमिक विद्यालय, पस्तीबाट १०+२ पूरा गरे। उच्च शिक्षाका लागि भारतको पिथौरागढ पुगेर सन् २००३ मा स्नातक तह (बीए) उत्तीर्ण गरेका धामी विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमता देखाउँदै आएका थिए। कक्षा मोनिटर, खेलकुद टोलीका कप्तान र विभिन्न विद्यार्थी गतिविधिमा सक्रिय रहँदै उनले नेतृत्व अभ्यासको अनुभव बटुलेका थिए।
खेलकुद क्षेत्रमार्फत पनि धामीले दार्चुलामा पहिचान बनाएका छन्। २०५६ सालमा जिल्ला खेलकुद विकास समिति दार्चुलाको सदस्य बनेका उनी पछि जिल्ला फुटबल संघ दार्चुलाको अध्यक्षसमेत बने। अध्यक्षका रूपमा रहँदा उनले केन्द्रीय निकायसँग समन्वय गर्दै जिल्लामा खेलकुद गतिविधि विस्तार र युवालाई खेलतर्फ आकर्षित गर्ने काम गरे। यसले विशेष गरी युवामाझ उनको लोकप्रियता बढाएको मानिन्छ।
पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा धामीको भूमिका दार्चुलाका लागि महत्वपूर्ण मानिन्छ। २०६५ देखि २०७४ सालसम्म मालिकार्जुन पर्यटन पूर्वाधार विकास समितिको अध्यक्षका रूपमा उनले मालिकार्जुन तीर्थस्थल मडलाई नेपाल सरकारबाट देशका सात धाममध्ये एक धामका रूपमा घोषणा गराउन निर्णायक भूमिका खेले। साथै मालिकार्जुन धामलाई नेपालका एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गराउनसमेत उनले पहल गरेका थिए। यसले दार्चुलाको धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गरेको स्थानीय अगुवाहरू बताउँछन्।
२०७० असार २ गते दार्चुलामा आएको विनाशकारी बाढीका बेला धामीले देखाएको सक्रियता पनि उल्लेखनीय मानिन्छ। सदरमुकाम र महाकाली नदी किनारका बस्तीमा ठूलो क्षति पुगेपछि उनले उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी निकाय, गैरसरकारी संस्था र दातृ निकायसँग समन्वय गर्दै अग्रसर भूमिका खेलेका थिए। संकटको समयमा देखाएको नेतृत्व क्षमताले उनको राजनीतिक विश्वसनीयता बढाएको कांग्रेस नेताहरूको धारणा छ।
कला, संस्कृति र सामाजिक सुधारका सवालमा पनि धामी निरन्तर सक्रिय छन्। स्थानीय लोकसंस्कृति संरक्षण, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धनका लागि पुस्तक, संग्रहालय (म्युजियम) लगायतका माध्यमबाट प्रचार–प्रसार गर्दै आएका छन्। छुवाछुत, कु–संस्कृति, बालविवाह, मानव बेचबिखन र बालअधिकार उल्लंघनविरुद्ध उनी निरन्तर आवाज उठाउँदै आएका छन्। साथै विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आँखाको उपचार, महिला स्वास्थ्य र अन्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन्।
उनको राजनीतिक यात्रा २०५२ सालमा नेपाल विद्यार्थी संघ दार्चुला जिल्ला उपाध्यक्षमा निर्विरोध चयन भएसँगै सुरु भएको हो। २०५४ सालमा पुनः सोही पदमा चयन हुँदै उनी दुवै पटक नेविसंघ केन्द्रीय अधिवेशन प्रतिनिधि बने। २०६४ देखि २०७० सालसम्म नेपाल तरुण दल दार्चुला जिल्ला अध्यक्ष र २०६७ देखि २०७० सालसम्म तरुण दल केन्द्रीय सदस्यका रूपमा उनले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेले।
यसका अतिरिक्त उनले सञ्चार राज्यमन्त्री तथा शिक्षा तथा खेलकुद मन्त्रीका स्वकीय सचिवका रूपमा पनि काम गरिसकेका छन्। २०६७ सालमा नेपाली कांग्रेस दार्चुला जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका धामी २०७१ सालमा जिल्ला सभापतिको उम्मेदवारसमेत बनेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा मालिकार्जुन गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदै उनले स्थानीय शासनको नेतृत्वको अनुभव पनि हासिल गरेका छन्।
पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको उम्मेदवारी त्यागपछि दार्चुला कांग्रेसमा नेतृत्व पुस्तान्तरण अपरिहार्य बनेको नेताहरूको बुझाइ छ। यही परिवेशमा संगठनात्मक अनुभव, स्थानीय तहको नेतृत्व, सामाजिक सक्रियता र युवामाझ लोकप्रियताका आधारमा नरेन्द्र सिंह धामीलाई दार्चुला कांग्रेसको प्रतिनिधिसभा उम्मेदवारका रूपमा बलियो सम्भावनाका साथ हेरिएको छ।

Leave A Reply

Your email address will not be published.