स्वेच्छाले सक्रिय चुनावी राजनीतिबाट विश्राम लिएँ, कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्छु: दिलेन्द्र बडू
काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले आफूले स्वेच्छाले सक्रिय चुनावी राजनीतिबाट विश्राम लिएको बताएका छन्।
आज एक अपिल जारी गर्दै उनले भनेका छन्, ‘दार्चुला जिल्लामा म स्वयं स्वेच्छाले नै आफू अब सक्रिय चुनावी राजनीतिबाट विश्राम लिन चाहेको र नयाँ युवा पीढीमा पुस्तान्तरणको प्रारम्भ गर्ने तथा पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने गरी आफ्नो सम्पूर्ण शक्ति लगाएर सहर्ष सहयोग र सहकार्य गर्ने भन्ने आफ्नो सार्वजनिक पूर्व स्वघोषणा अनुरूप नै क्रियाशील छु।’
पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वको संसदीय बोर्डले दार्चुलामा पनि युवाहरूको भावना र चाहना अनुरूप नै धर्मानन्द जोशीलाई दार्चुलाको उम्मेदवार बनाएका छन्।
अपिलमा भनिएको छ, ‘यो चुनाव सामान्य अवस्थामा हुने आवधिक चुनाव होइन । जेनजी आन्दोलनको भावना अनुरूप नयाँ पीढीमा पुस्तान्तरण हुने गरी अधिवेशनमा सहभागी जिल्लाका प्रतिनिधि साथीहरू समेतको सहमतिमा निर्वाचित नेतृत्वले गरेको निर्णयअनुसारको आकस्मिक र विशेष अवस्थाको निर्णय भएकोले सोही अनुसार सबैले स्वीकारेको अवस्था छ।’
उनले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लाग्न पार्टीपंक्तिलाई आह्वान पनि गरेका छन्।